२२ साउन काठमाडौं / निर्वाचन आयोगले ल्याएको ’राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असरमति जनाएको छ । स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ । आयोगले ’राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो ।
‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो । नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भने ।
सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको अहसमति रहेको उनले बताए ।