२ साउन काठमाडाैँ / नेकपा एमालेको पोलिट्ब्युरो बैठक च्यासलमा सुरू भएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न पोलिट्ब्युरो बैठक बसेको हो । बैठकले गएराति सम्पन्न सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने नेताहरूले बताएका छन् ।
साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्ताव गरिनेछ । सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय गरेको छ । ७० वर्षे उमेर र दुई कार्यकालको हद पनि हटाएको छ ।
यस्तै अबदेखि पार्टीमा सचिवालय समिति पनि नरहने निर्णय गरेको छ । अब एमालेमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय भएको छ । आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने भएको छ ।
पार्टीमा अध्यक्ष, महासचिव र उपमहासचिव, उपाध्यक्ष पाँच र सचिव सात जना रहने सहमति भएको छ । पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या ११ मात्र राख्ने प्रस्ताव गरेका थिए । तर, छलफलपछि १५ पदाधिकारी राख्ने निर्णय भएको हो ।