
२६ कात्तिक, काठमाडौं / नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन् ।
धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्व मन्त्री पौडेलले भने,‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’
दर्ताको समय पनि कार्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरु समूहका व्यक्तिहरु समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको उनले बताए ।
‘निर्वाचन आयोग र सरकारलाई प्रचार भएअनुसार सहजीकरण भएको छैन । नामावली दर्ताका लागि गएकाहरुले सजिलोसँग नाम दर्ता गराउन सकिरहनुभएको छैन । त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउनु जरुरी छ ।’ उनले भने ।