२०८३ मंसिर १०, बुधबार

परशुराम खापुङको पाँच वर्षे कार्यकाल सकिएपछि कोशी प्रदेश १५ दिनदेखि प्रदेश प्रमुखविहीन छ । अध्यादेश, मुख्यमन्त्री फेरबदल र संवैधानिक प्रक्रियामा अन्योल बढेको छ ।

प्रदेश प्रमुख नियुक्त नहुँदा कोशी सरकार र एमालेको राजनीतिक समीकरण प्रभावित

कोशी प्रदेश १५ दिनदेखि प्रदेश प्रमुखविहीन, सरकार र एमालेलाई सकस
प्रदेश प्रमुख नियुक्त नहुँदा कोशी सरकार र एमालेको राजनीतिक समीकरण प्रभावित

९ मंसिर, विराटनगर । पाँच वर्षे कार्यकाल पूरा गरेर परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश १५ दिनदेखि प्रदेश प्रमुखविहीन बनेको छ । संघीय सरकारले अहिलेसम्म नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन भने कार्यवाहक जिम्मेवारीसमेत तोकेको छैन ।

२०७८ कात्तिक २५ गते प्रदेश प्रमुख नियुक्त भएका खापुङले गत कात्तिक २४ गते पाँच वर्षे कार्यकाल पूरा गरेका हुन् । उनको बिदाइपछि प्रदेश प्रमुखको पद रिक्त रहँदा प्रदेश सरकार र सत्तारुढ नेकपा एमाले दुवैलाई संवैधानिक तथा राजनीतिक काम अघि बढाउन सकस परेको छ ।

प्रदेशसभाको अधिवेशन चालु नभएको अवस्थामा प्रदेश सरकारले तत्काल कामकाज अघि बढाउन केही अध्यादेश ल्याउने तयारी गरेको छ । अर्कोतर्फ, एमाले संस्थापन पक्ष मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने कसरतमा छ ।

अध्यादेश जारी गर्ने, मुख्यमन्त्री फेरबदल, नयाँ मन्त्री नियुक्ति तथा शपथ ग्रहण गराउनेलगायतका संवैधानिक प्रक्रिया प्रदेश प्रमुखबाटै सम्पादन हुने भएकाले प्रदेश प्रमुखको पद रिक्त हुँदा दुवै पक्ष अन्योलमा परेका हुन् ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेश प्रमुख नहुँदा काम गर्न कठिन भइरहेको बताए ।

‘प्रदेश प्रमुख नहुँदा काम गर्न कठिनाइहरू छन्,’ उनले भने, ‘सरकारको नेतृत्व परिवर्तनको विषयमा पार्टीले एउटा निर्णय गर्छ, तर यहाँ प्रदेश प्रमुख नहुँदा अन्योल चाहिँ छ ।’

सत्तारुढ एमालेकै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले पनि संवैधानिक पद रिक्त हुँदा प्रदेश सरकारको कामकारबाही प्रभावित भएको बताए ।

‘सदन नभएको अवस्थामा तत्काल काम गर्नका लागि सरकारले केही अध्यादेश ल्याउन खोजेको छ, तर प्रदेश प्रमुख रिक्त हुँदा कठिनाइ छ,’ उनले भने, ‘प्रदेश प्रमुख एक दिन पनि रिक्त राख्न नमिल्ने संवैधानिक पद हो ।’

प्रदेश प्रमुख नियुक्ति वा अर्को प्रदेशका प्रमुखलाई कार्यवाहक जिम्मेवारी तोक्ने विषयमा राष्ट्रपति कार्यालयमा अहिलेसम्म औपचारिक प्रक्रिया अघि बढेको छैन । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नयाँ प्रदेश प्रमुख तोक्ने वा कार्यवाहक जिम्मेवारी दिने विषयमा मन्त्रिपरिषद्को सिफारिससहितको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छैन ।

प्रदेश प्रमुखको कार्यालय विराटनगरकी अधिकृत निशा भट्टराईले पद रिक्त रहेको जानकारी संघीय सरकारमा पुगिसकेको भए पनि नयाँ नियुक्ति वा कार्यवाहक तोकिएको विषयमा केन्द्रबाट कुनै जानकारी नआएको बताइन् । उनका अनुसार प्रमाणीकरणका लागि कार्यालयमा कुनै फाइल आएको छैन ।

‘प्रदेश प्रमुख रिक्त रहेको स्वतः जानकारी भएका कारणले होला, प्रदेश सरकार वा अन्य निकायबाट प्रमाणीकरणका लागि कुनै फाइल कार्यालयमा आएको छैन,’ उनले भनिन् ।

खापुङ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ कात्तिक २५ गते प्रदेश प्रमुख नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको पदावधि पाँच वर्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गत कात्तिक २४ गते उनको कार्यकाल पूरा भएको हो । खापुङ प्रदेश प्रमुखको पाँच वर्षे पूरा कार्यकाल बिताउने पहिलो व्यक्ति हुन् ।

संवैधानिक व्यवस्था भए पनि कार्यवाहक तोकिएन

नेपालको संविधानले प्रदेश प्रमुखको पद रिक्त भएमा संवैधानिक कामकाज नरोकियोस् भनेर वैकल्पिक व्यवस्था गरेको छ । संविधानको धारा १६५ को उपधारा (२) अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ ।

तर, अर्को प्रदेशका प्रमुखले स्वतः कोशीको जिम्मेवारी पाउने व्यवस्था छैन । त्यसका लागि संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट निर्णय हुनुपर्छ ।

प्रदेश प्रमुखको अनुपस्थितिले दैनिक प्रशासनिक कामकाज नै पूर्ण रूपमा रोकिने नभए पनि महत्वपूर्ण संवैधानिक प्रक्रियाहरू प्रभावित भएका छन् । संविधानको धारा १६६ अनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री तथा मन्त्री नियुक्ति, शपथ ग्रहण, प्रदेशसभाको अधिवेशन आह्वान तथा अन्त्य, अध्यादेश जारी र प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरणलगायतका काम गर्नुपर्ने हुन्छ ।

प्रदेश प्रमुखको पद रिक्त रहँदा यस्ता महत्वपूर्ण संवैधानिक प्रक्रिया अघि बढाउन कठिन भएको छ ।

रास्वपाले नाम सिफारिस गरेको चर्चा, प्रदेश अध्यक्षको खण्डन

यसैबीच, नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशले केन्द्रमा तीन जनाको नाम सिफारिस गरेको चर्चा चलेको थियो । जनजाति समुदायबाट प्रदेश प्रमुख नियुक्त गर्न पार्टीले नाम सिफारिस गरेको भन्ने हल्ला बाहिरिए पनि रास्वपा कोशी प्रदेश अध्यक्ष चन्द्र राईले त्यसको खण्डन गरेका छन् ।

‘बाहिर हल्लाहरू आएका छन्, तर त्यो सत्य होइन,’ राईले भने, ‘प्रदेश प्रमुखको विषयमा व्यक्तिगत रूपमा चासो हुनु स्वाभाविक हो, तर पार्टीले कसैको नाम सिफारिस गरेर पठाएको छैन ।’

प्रदेश प्रमुख नियुक्तिमा संघीय सरकारको निर्णय पर्खिरहेको कोशी प्रदेश अहिले संवैधानिक रिक्तता र राजनीतिक अनिश्चितताबीच अघि बढिरहेको छ । नयाँ प्रदेश प्रमुख नियुक्ति वा कार्यवाहक जिम्मेवारी नतोकिएसम्म प्रदेश सरकारका महत्वपूर्ण निर्णय तथा एमालेभित्रको नेतृत्व परिवर्तनसम्बन्धी प्रक्रिया थप प्रभावित हुने देखिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस