
९ मंसिर, काठमाडौं । बालश्रम पूर्ण रूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ ।
सरकारले नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था हेरेर बालश्रमको उमेर र कामको सीमा निर्धारण गर्न खोजिएको बताएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालमा अहिले पनि ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांक रहेको भन्दै उनीहरूलाई श्रमबाट बाहिर निकाल्न विधेयक ल्याइएको बताए ।
बालश्रम निषेध तथा नियमन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै मन्त्री यादवले बालश्रमको संख्या घटाउनु विधेयकको मुख्य उद्देश्य रहेको बताए ।
‘हामीले यो बनाउनुको कारण भनेको अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर डाटाले देखाइराख्या छ । हो, त्यो ११ लाखलाई कसरी घटाउने तिर हामी सोचिराख्या हो’, उनले भने ।
बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउँदैमा समस्या समाधान नहुने उनको तर्क छ । गरिबी, पारिवारिक अवस्था, अभिभावकविहीनता र बालबालिकाको संरक्षण गर्ने राज्यको क्षमतासमेतलाई ध्यान दिएर कानुन बनाउनुपर्ने उनले बताए ।
‘कानुन यस्तो बनाइदियो जुन कार्यान्वयन नै गर्न सकिएन भने त्यो फेल हुन जान्छ’, उनले भने, ‘हामीले प्राक्टिकल र जुन कार्यान्वयन गर्न सकिने आफ्नो स्थिति हेरेर कानुन बनाउनुपर्छ ।’
सरकारले प्रस्ताव गरेको १३ वर्षको उमेर नेपालको परिस्थितिअनुसार निर्धारण गरिएको मन्त्री यादवको भनाइ छ । विकसित देश र नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था फरक रहेकाले कानुन पनि देशको यथार्थअनुसार बनाउनुपर्ने उनले बताए ।
सरकारले १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई घरमा अभिभावकलाई सामान्य सहयोग गर्ने प्रकृतिको हल्का काममा मात्रै संलग्न गराउने प्रस्ताव गरेको छ । त्यसमा पनि शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक विकास र शोषणको जोखिमलाई ध्यानमा राखेर काम गर्न दिने व्यवस्था गरिएको मन्त्री यादवले बताए ।
‘हामीले बच्चालाई स्कुलबाट निकालेर काममा लगाउनुपर्छ भन्ने तर्फ पनि होइनौँ । हामीले बच्चालाई स्कुलमा टिकाउनुपर्छ भन्ने पक्षमै हो’, उनले भने ।
१५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कामको प्रकृति र सीमा छुट्याइएको तथा कुन उमेरमा कस्तो काम गर्न मिल्ने भन्ने विषय विधेयकको अनुसूचीमा राखिएको मन्त्री यादवले जानकारी दिए ।
बालश्रम र सामान्य कामलाई एउटै रूपमा हेर्न नहुने भन्दै उनले लामो समय काम गराउने, स्वास्थ्यमा असर पर्ने, मानसिक दबाब सिर्जना गर्ने तथा उमेरअनुसार कामको सीमा नाघ्ने अवस्थालाई शोषणकारी श्रमका रूपमा हेर्नुपर्ने सरकारको प्रस्ताव रहेको बताए ।
मन्त्री यादवले बालबालिकालाई काममा लगाउने सबै व्यक्ति शोषणकारी नहुने तर्क पनि गरे । विगतमा ग्रामीण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका परिवारले बालबालिकालाई पढाइदिने र हेरचाह गरिदिने व्यक्तिकहाँ पठाउने अभ्यास रहेको भन्दै अहिले कानुनको डरले त्यस्ता परिवारसमेत त्रसित हुने अवस्था रहेको उनले बताए ।
‘राख्यौं भने एरेस्ट नै होला कि जस्तो लाग्छ । जबकि उसले राम्रो केयर गरेर, नराम्रो पनि होलान् तर राम्रो पनि यसमा परे कि’, उनले भने ।
विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले बालश्रम रोक्न कानुनी प्रावधान मात्रै पर्याप्त नहुने भन्दै उद्धार, पुनर्स्थापना, परिवारको आर्थिक सुरक्षा, विद्यालयमा पुनःएकीकरण र प्रभावकारी निगरानीमा जोड दिएका छन् ।
सांसद प्रभा कार्कीले बालबालिकालाई कामबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको जिम्मेवारी लिनुपर्ने बताइन् । उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध, हिंसा वा थप जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।
घरेलु श्रममा संलग्न बालबालिकाको अवस्थालाई विधेयकले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने भन्दै उनले बालश्रममुक्त घोषणा गरिएका क्षेत्र तथा परिवारका बालबालिकालाई विद्यालयमा पुनःएकीकरण गराउने सुनिश्चितता हुनुपर्ने बताइन् ।
बालश्रमको मुख्य कारण गरिबी भएकाले रोजगारदातालाई कारबाही गर्ने व्यवस्थासँगै परिवारको आर्थिक अवस्था सुधार गर्ने उपाय पनि कानुनमा जोड्नुपर्ने कार्कीको भनाइ छ । अति विपन्न परिवारको सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी, लक्षित आर्थिक सहायता र विद्यालय उमेरका बालबालिकालाई विद्यालयमै टिकाउने कार्यक्रम आवश्यक रहेको उनले बताइन् ।
जन्मदर्ता वा उमेर प्रमाणित गर्ने कागजात नभएका बालबालिकालाई वयस्क ठहर गरेर कानुनी संरक्षणबाट वञ्चित गर्न नहुने विषय पनि उनले उठाइन् । उमेर विवाद हुँदा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिएर प्रमाण र विशेषज्ञ मूल्यांकनका आधारमा निर्णय गर्नुपर्ने उनको सुझाव छ ।
सांसद कालिबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था, होटललगायत क्षेत्रमा ११–१२ वर्षका बालबालिकासमेत काम गरिरहेको वास्तविकता रहेको भन्दै उमेरअनुसार कामको स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए ।
कामको समय, आराम, स्वास्थ्य, पोषण, शिक्षा र व्यक्तित्व विकासमा असर नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ । बालश्रम नियन्त्रणका लागि स्थानीय तह, सरकारी निकाय र गैरसरकारी संस्थाको भूमिका स्पष्ट हुनुपर्ने तथा नियमित अनुगमनको संयन्त्र आवश्यक रहेको उनले बताए ।
गरिबी र बाध्यताका कारण बालबालिका काममा लाग्ने अवस्थालाई सम्बोधन नगरे कानुन कागजमै सीमित हुने उनको भनाइ छ ।
सांसद प्रकाश पाठकले बालबालिकाको उमेरअनुसार काम, समय र आरामसम्बन्धी व्यवस्था स्पष्ट भए पनि विधेयकमा शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषय समेट्नुपर्ने सुझाव दिए ।
खुला सीमा र शरणार्थी बालबालिकाको अवस्थालाई ध्यानमा राखेर विशेष संरक्षणको व्यवस्था गर्नुपर्ने भन्दै उनले विधेयकमा मुद्दा दायर गर्ने समयसीमा ६ महिनाको प्रस्ताव गरिएको भए त्यसलाई बालबालिकासम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने बताए ।
स्थानीय बालकल्याण समिति, राष्ट्रिय बाल अधिकार परिषद् र स्थानीय तहको अधिकार तथा जिम्मेवारीसमेत स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।
सांसद गंगादेवी श्रेष्ठले बालश्रम पहिले सडक र सार्वजनिक क्षेत्रमा बढी देखिने भए पनि अहिले लुकेर हुने श्रम बढिरहेको भन्दै त्यसको कारण खोज्नुपर्ने बताइन् ।
गरिबी, बेरोजगारी, विपद्, अभिभावक विदेश जाने अवस्था, अभिभावक गुमाएका बालबालिका, छात्रावासबाट बाहिरिएका बालबालिका तथा असमान शिक्षा प्रणालीले बालश्रमको जोखिम बढाउने उनको भनाइ छ ।
मनोरञ्जन क्षेत्रमा बालबालिकाको श्रमलाई पनि स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने भन्दै उनले दोहोरी, मेला, महोत्सव तथा अन्य मनोरञ्जनात्मक गतिविधिमा कम उमेरका बालबालिका संलग्न हुने अवस्थालाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।
बालबालिका उद्धारपछि पनि सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता नभए जोखिम कायम रहने भन्दै उनले पुनर्स्थापनाका संस्थाहरूको अवस्था र निगरानीसमेत प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।
सांसद कृपाराम रानाले विधेयक संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग मेल खाने गरी बनाउनुपर्ने सुझाव दिएका थिए ।
संविधानको धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित हेरचाह, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरेको भन्दै विधेयकका प्रावधान ती अधिकारसँग बाझिन नहुने उनको भनाइ थियो ।
बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि १३८ र १८२ को मर्मसमेत ध्यानमा राखेर विधेयकका प्रावधान र अनुसूचीहरू समीक्षा गर्नुपर्ने उनले बताए ।
सांसद सोम शर्माले बालश्रमको समस्या गरिबी, अभिभावकको संरक्षणको अभाव र परिवारको आर्थिक अवस्थासँग जोडिएको भन्दै कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर दिनुपर्ने बताए ।
बालबालिका र परिवार दुवैले भविष्यमा राम्रो जीवनको सम्भावना देख्न नसक्ने अवस्था बालश्रमको मूल समस्यामध्ये एक भएको उनको तर्क थियो ।
समिति सभापति रहबर अन्सारीले विधेयकलाई प्रगतिशील प्रस्ताव भन्दै बालश्रमलाई रोजगारदाताका लागि आर्थिक रूपमा महँगो बनाउने उद्देश्य रहेको बताए ।
बालबालिकालाई काममा लगाउँदा सस्तो श्रम उपलब्ध हुने भएकाले जरिवाना, कानुनी जिम्मेवारी र पुनर्स्थापनाका प्रावधानमार्फत रोजगारदातालाई जिम्मेवार बनाउन खोजिएको उनको भनाइ छ ।
बालबालिकाको उमेर, कामको प्रकृति, कामको समय र भारसमेत स्पष्ट निर्धारण गर्ने प्रस्ताव रहेको भन्दै उनले दफावार छलफलमा सांसदहरूका संशोधनलाई समेटेर विधेयक अघि बढाइने बताए ।
सभापति अन्सारीले विधेयकमा मुद्दा दायर गर्ने समयसीमा ६ महिनाको प्रस्ताव गरिएको भए त्यसलाई बालबालिकासम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने सुझावसमेत दिएका छन् ।