२० भदौ सिन्धुली / सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान कमलामाई नगरपालिका– ९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँमा ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकको ठक्करबाट सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन् । उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि आफन्तले तत्कालै अस्पताल पुर्याएका थिए । अनियन्त्रित भएको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएपछि सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । ट्रक पल्टिँदा एउटा घरमा क्षति भएको छ । जसमा २० वटा जति कुखुरा मरेका पनि प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक टंकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।