
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका धेरै स्थानमा समेत वर्षा हुने पूर्वानुमान गरिएको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली रहने र धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। देशका थोरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
शनिबार पनि मौसममा सुधार नआउने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सम्भावित वर्षा, हावाहुरी र हिमपातलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।