
झापा । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को सम्भावित प्रभावका कारण झापासहित कोशी प्रदेशका विभिन्न स्थानमा बाढी र डुबानको जोखिम बढेको छ। सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।
मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै प्रशासनले पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई तत्काल धान नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ। भारी वर्षाले कृषि उपजमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रशासनले भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने जनाएको छ। अनावश्यक लामो दूरीको यात्रा नगर्न तथा वर्षाका बेला सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
त्यसैगरी, नदी तथा खहरे खोलामा अचानक बाढी आउन सक्ने भएकाले खोला आसपास यात्रा नगर्न, माछा मार्ने तथा दाउरा सङ्कलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। मौसमसम्बन्धी भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी सूचना मात्र विश्वास गर्न पनि आग्रह गरिएको छ।
सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बुधबार सुरक्षा निकाय तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग आकस्मिक बैठकसमेत गरेको छ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सम्भावित भारी वर्षाबाट हुन सक्ने जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको जानकारी दिएका छन्। उनका अनुसार स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकिएको छ।
प्रशासनले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन र आधिकारिक निकायका सूचनाको पालना गर्न सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।