
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गर्दा श्रीमती, सासु, साली र सालो घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका छन्।
घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ। अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा गहिरो चोट लागेको छ। सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ।
पीडित परिवारले आरोपितले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको आरोप लगाएको छ। यद्यपि, घटनाको वास्तविक कारण र उद्देश्यबारे प्रहरी अनुसन्धानपछि थप विवरण खुल्नेछ।
स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विषयमा सामान्य विवाद भएपछि नइन्द्रकुमारले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। रातिको समयमा घरभित्र सुतिरहेको अवस्थामा आक्रमण भएपछि गाउँ नै तनावग्रस्त बनेको स्थानीयले बताएका छन्।
घटनाबारे करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारमा खबर पुगेको थियो। प्रहरी घटनास्थल पुग्दा आरोपित फरार भइसकेका थिए। खोजतलासका क्रममा उनलाई गएराति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
आरोपित नइन्द्रकुमार नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएको अवस्थामा घटना भएको बताइएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।