
सर्लाही । सर्लाहीमा यात्रुवाहक ईभी गाडी र ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
शनिबार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा ईभीमा सवार १२ जना घाइते भएका छन्। घाइतेमध्ये बारा जिल्लाको सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते रामलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ भने अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।