२०८३ कार्तिक ९, आईतबार

२९ जिल्ला जोखिममा

तीन मौसमी प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षाको जोखिम, २९ जिल्ला प्रभावित हुन सक्ने

नेपालमा वर्षाको जोखिम
तीन मौसमी प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षाको जोखिम, २९ जिल्ला प्रभावित हुन सक्ने

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीसहित तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।
मौसम विश्लेषकहरूका अनुसार आगामी कात्तिक १२ देखि १५ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको गतिविधि बढ्न सक्नेछ। प्रारम्भिक आकलनअनुसार मनाङसहित कम्तीमा २९ जिल्ला तुलनात्मक रूपमा बढी प्रभावित हुन सक्ने सम्भावना छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने देखिएको छ। यसको प्रभाव बिहीबार रातिदेखि थप बढ्न सक्ने अनुमान गरिएको छ।
उनका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ।
२९ जिल्लामा बढी जोखिम हुन सक्ने
डा. पोखरेलले सार्वजनिक गरेको प्रारम्भिक जोखिम नक्साअनुसार कात्तिक १२ देखि १५ गतेसम्म केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना छ।
तर मौसमी प्रणालीको दिशा र तीव्रतामा परिवर्तन आउन सक्ने भएकाले जोखिममा पर्ने जिल्ला तथा वर्षाको मात्रा पनि परिवर्तन हुन सक्ने उनले बताएका छन्।
तीन मौसमी प्रणालीको संयुक्त प्रभाव
मौसम विश्लेषणअनुसार दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ। त्यस्तै, बंगालको खाडीबाट आउने अर्को न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावसमेत नेपालमा पर्न सक्ने देखिएको छ।
यी प्रणालीको संयुक्त प्रभावले देशका विभिन्न स्थानमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढाएको मौसमविद्हरूको विश्लेषण छ।
हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह
मनाङसहित हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
तराईका जिल्लामा डुबान, पहाडी क्षेत्रमा बाढीपहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ।
धान नकाट्न र लामो दूरीको यात्रा नगर्न सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्भावित वर्षालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार धान काट्ने तथा भित्र्याउने काम स्थगित गर्न सुझाव दिएका छन्।
त्यस्तै, दशैं मनाएर कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान आग्रह गरिएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, पदयात्रा तथा कृषि कार्य गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस