२०८३ कार्तिक ९, आईतबार

धनुषा पारिवारिक विवाद घटना

धनुषामा पारिवारिक विवादले भयावह रूप लियो : श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला, ४ वर्षीय छोरा गम्भीर घाइते

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला, ४ वर्षीय छोरा गम्भीर घाइते
धनुषामा पारिवारिक विवादले भयावह रूप लियो : श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला, ४ वर्षीय छोरा गम्भीर घाइते

धनुषा । धनुषामा पारिवारिक विवादका क्रममा श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घटनामा ४ वर्षीय छोरा गम्भीर घाइते भएका छन् भने घटनापछि फरार रहेका श्रीमान् पनि मृत अवस्थामा फेला परेका छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित माइतीघरमा शनिबार राति करिब ९ बजे घटना भएको हो।
प्रहरीका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रिना यादव र ४ वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए।
घटनामा श्रीमती रिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आक्रमणबाट घाइते भएका बालकको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनामा प्रयोग भएको चक्कुसमेत प्रहरीले बरामद गरेको छ।
घटनापछि फरार रहेका उमेशको खोजी गर्ने क्रममा आइतबार बिहान घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम सिर्सिया जाने बाटो छेउमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालले घटनाबारे जानकारी दिएका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस