२०८३ कार्तिक १४, शुक्रबार

भुटानमा हिमताल विस्फोट

भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, भारतका सीमावर्ती क्षेत्रमा रेड अलर्ट

भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, भारतमा रेड अलर्ट
भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, भारतका सीमावर्ती क्षेत्रमा रेड अलर्ट

काठमाडौं । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुटेपछि आएको भीषण बाढीले भुटानसँगै भारतको सीमावर्ती क्षेत्रमा जोखिम बढाएको छ। मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बाढी बगेपछि भारतको पश्चिम बङ्गाल प्रशासनले उत्तर बङ्गालका विभिन्न क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै भारतीय प्रशासनले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। सङ्कोश नदी तथा यसका सहायक नदी आसपासका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार शुक्रबार राति आएको बाढीले गसा जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका संरचनामा क्षति पुर्‍याएको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ।
हालसम्म घटनामा मानवीय क्षति वा कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन। रातिको समयमा बाढी आएको तथा पानीको तीव्र बहावका कारण भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको जनाइएको छ।
भुटानी सञ्चारमाध्यम कुएनसेलका अनुसार लाया गाउँ हुँदै तातोपानी क्षेत्र जाने सडकका केही भाग बाढीले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढी पुग्नुअघि नै तातोपानी क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
हिमताल फुटेको सूचना प्राप्त हुनासाथ पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको थियो। सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै सतर्कता अपनाइएको छ।
यसैबीच, सम्भावित जोखिम व्यवस्थापनका लागि भारतीय प्रशासनले राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) तथा सुरक्षाकर्मी परिचालन गरेको छ। नदीमा पानीको बहाव र बाढीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको अधिकारीहरूले जनाएका छन्।
अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहका अनुसार हजारौँ मानिसलाई विद्यालय भवनमा स्थापना गरिएका राहत शिविर तथा सुरक्षित स्थानमा सारिएको छ। राहत शिविरमा खानेकुरा, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ।
पछिल्लो जानकारीअनुसार नदीमा पानीको बहाव केही घटेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले उच्च सतर्कता कायम राखेको छ।
के हो हिमताल विस्फोटजन्य बाढी (GLOF)?
हिमताललाई रोकिराख्ने प्राकृतिक बाँध फुट्दा वा भत्किँदा तालमा जम्मा भएको ठूलो परिमाणको पानी एकैपटक तल्लो क्षेत्रमा बग्ने प्रक्रियालाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) भनिन्छ।
यस्तो बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याउन सक्छ। जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम थप बढाएको छ।
भुटानमा भएको पछिल्लो घटनाले जोखिमयुक्त हिमतालको नियमित अनुगमन, पूर्वसूचना प्रणाली र विपद् तयारीको आवश्यकता पुनः उजागर गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस