
धादिङ । फुर्केखोलाको पक्की पुल बाढीले बगाएको दुई महिना ६ दिन बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। पुल नहुँदा धादिङबेसी सदरमुकामसहित उत्तरी धादिङका नागरिकले सडक यातायातमा सास्ती भोग्दै आएका छन्।
अवरुद्ध सडक सम्पर्कलाई सहज बनाउन फुर्केखोलामा अस्थायी रूपमा पन्टुन पुल जडान गर्ने तयारी गरिएको छ। धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको पहल र समन्वयमा पुल ल्याएर जडान गर्ने प्रक्रिया अघि बढाइएको हो।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गर्ने तयारी भइरहेको छ।
यसैक्रममा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा पुल जडानको सम्भावना र आवश्यक प्राविधिक पक्षबारे निरीक्षण गरिने अध्यक्ष दनैले जानकारी दिएका छन्।
सबै प्रक्रिया अनुकूल भए केही दिनभित्रै पन्टुन पुल जडान गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताए। स्थायी पुल निर्माण सम्पन्न नहुँदासम्म अस्थायी पुलबाट यातायात सञ्चालन गर्ने योजना छ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी सदरमुकामसहित उत्तरी धादिङका नागरिकलाई पृथ्वी राजमार्गसँग जोडिने सडक सम्पर्कमा समस्या हुँदै आएको छ।
पुल बगेसँगै स्थानीयवासी तथा मालवाहक सवारीसाधनले वैकल्पिक र लामो दूरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। दैनिक आवतजावतदेखि सामान ढुवानीसम्म प्रभावित हुँदै आएको छ।
फुर्केखोलामा अस्थायी पन्टुन पुल सञ्चालनमा आए धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क सहज हुने र स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
के हो पन्टुन पुल ?
पन्टुन पुल पानीमा तैरिने संरचनाको सहायताले निर्माण गरिने अस्थायी वा स्थायी पुल हो। यसलाई तैरिने पुल पनि भनिन्छ। सामान्य पुलजस्तो नदीको बीचमा पिलर निर्माण नगरी पानीमा तैरिने विशेष ड्रम, डुङ्गा वा बक्सको सहायताले यस्तो पुल बनाइन्छ।
यी तैरिने संरचनामाथि फलाम वा काठका पाता राखेर मानिस तथा सवारीसाधन आवतजावत गर्ने बाटो तयार गरिन्छ। पुललाई पानीको बहावले बगाउन नदिन नदीका दुवै किनारमा बलिया डोरी वा साङ्लाले बाँधेर स्थिर राखिन्छ।
पन्टुन पुल छिटो जडान गर्न सकिने र आवश्यकताअनुसार अर्को स्थानमा सार्नसमेत मिल्ने भएकाले आपत्कालीन अवस्थामा यसको प्रयोग गरिन्छ। तर नदीमा पानीको बहाव अत्यधिक बढ्दा वा बाढी आउँदा जोखिम हुन सक्छ। साथै, पुलको क्षमता र प्राविधिक अवस्थाअनुसार मात्र सवारीसाधन सञ्चालन गर्न सकिन्छ।