
काठमाडौं । भुटानमा हिमताल विस्फोटपछि आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले भुटानको गसा जिल्लास्थित प्रसिद्ध पर्यटकीय गन्तव्य गसा छाछु प्राकृतिक तातोपानी कुण्डका संरचना बगाएको छ। घटनापछि भारतका पश्चिम बङ्गाल र असम राज्यका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेको छ।
भुटानको गसा जिल्लास्थित शिन्ताफु हिमताल फुटेपछि मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बाढी बगेको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतीय प्रशासनले दुवै राज्यका नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लामा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई राहत शिविर तथा सुरक्षित स्थानमा राखिएको छ।
बाढीका कारण गसा छाछु तातोपानी क्षेत्रका संरचनामा क्षति पुगेको भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले जनाएको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ।
भुटानी सञ्चारमाध्यम कुएनसेलका अनुसार लाया गाउँ हुँदै तातोपानी क्षेत्र जाने सडकका केही भाग बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढी पुग्नुअघि नै तातोपानी क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन।
उता भारतको पश्चिम बङ्गाल प्रशासनले सङ्कोश नदी र यसका सहायक नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
असमको धुबरी जिल्लामा पनि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले निगरानी बढाएको छ। नदीमा पानीको सतह र बहावको अवस्थाबारे अधिकारीहरूले निरन्तर अनुगमन गरिरहेका छन्।
सम्भावित जोखिम व्यवस्थापनका लागि भारतीय प्रशासनले विपद् व्यवस्थापन टोली तथा सुरक्षाकर्मी परिचालन गरेको छ। राहत शिविरमा प्रभावित नागरिकका लागि खानेकुरा, पिउने पानी र आवश्यक सुविधाको व्यवस्था गरिएको जनाइएको छ।
पछिल्लो विवरणअनुसार नदीमा पानीको बहाव केही घटेको भए पनि दुवै राज्यका प्रशासनले उच्च सतर्कता कायम राखेका छन्।
हिमताल फुटेर आउने यस्तो बाढीलाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) भनिन्छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा देखिएको परिवर्तनले यस्ता विपद्को जोखिम बढाउँदै गएको छ।