
काठमाडौं । उच्चपदस्थ राजनीतिक पदाधिकारी, प्रशासनिक अधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको ‘सम्पत्ति छानबिन आयोग, २०८३’ सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण पाँच महिनादेखि निष्क्रिय बनेको छ ।
आयोगको वैधानिकता र क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएपछि केशरमहलस्थित आयोगको कार्यालयमा संकलित १८ हजारभन्दा बढी फाइलको छानबिन प्रक्रिया रोकिएको हो ।
आयोगको एकवर्षे कार्यकालको आधाभन्दा बढी समय कानुनी विवादमै बितिसकेको छ । छानबिन प्रक्रिया रोकिएपछि आयोगको बाँकी कार्यकाल, संकलित विवरणको अवस्था र आगामी कानुनी प्रक्रियाबारे अन्योल बढेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत असार २६ गते सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न, पेस भएका विवरणमाथिको छानबिन यथास्थितिमा राख्न तथा कसैविरुद्ध कानुनी कारबाहीको सिफारिस नगर्न अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि असार ३१ गते न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गर्ने काम अघि नबढाउन अर्को आदेश जारी गरेको थियो । उक्त आदेशपछि आयोगले असार ३२ गते सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति विवरण संकलन र छानबिनका सम्पूर्ण काम स्थगित गरेको थियो ।
त्यसयता आयोगमा औपचारिक छानबिन, बयान लिने, स्रोत नखुलेको सम्पत्ति रुजु गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने काम रोकिएको छ ।
आयोगका प्रवक्ता गणेश केसीका अनुसार अदालतको अन्तरिम आदेशका कारण बाह्य तथा औपचारिक छानबिनका गतिविधि बन्द छन् ।
‘आयोगमा १८ हजारभन्दा बढी फाइल छन् । ती सबै अध्ययनकै क्रममा छन्,’ प्रवक्ता केसीले भने, ‘अदालतको आदेशपछि छानबिनको काम हालका लागि रोकिएको छ । अहिले हामी अदालतको अन्तिम आदेश कुरेर बसिरहेका छौँ । अदालतको आदेश जे आउँछ, सोहीअनुसार हामी अघि बढ्छौँ ।’
अहिले आयोगका पदाधिकारी तथा सचिवालयका कर्मचारी कार्यालयमा नियमित उपस्थित भएर संकलित सम्पत्ति विवरण र उजुरीका फाइलहरूको प्रारम्भिक अध्ययन, वर्गीकरण तथा अभिलेखीकरणजस्ता आन्तरिक काममा मात्रै सीमित छन् । आयोगले नयाँ सम्पत्ति विवरण संकलन गर्न र थप उजुरीमाथि कारबाही अघि बढाउन पाएको छैन ।
गत वैशाख २ गते पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा एक वर्षको कार्यावधि तोकेर आयोग गठन गरिएको थियो । आयोगको कार्यकाल सात महिनाभन्दा बढी बितिसकेको छ ।
पहिलो चरणमा २०६२/६३ देखि २०८२ चैत मसान्तसम्म र दोस्रो चरणमा २०४८ सालदेखिको सम्पत्ति छानबिन गर्ने लक्ष्य आयोगले राखेको थियो । तर, पाँच महिनाभन्दा बढी समय काम रोकिएपछि निर्धारित अवधिभित्र छानबिन सम्पन्न गर्न कठिन हुने देखिएको छ ।
आयोगको भविष्य सर्वोच्च अदालतको अन्तिम फैसलामा निर्भर छ । तर, सर्वोच्च अदालतभित्रै संवैधानिक इजलास गठनको विषयमा विवाद भएपछि आयोगसम्बन्धी मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ ।
असार २६ गते संयुक्त इजलासले मुद्दामा गम्भीर संवैधानिक तथा कानुनी जटिलता रहेको भन्दै १५ दिनभित्र प्राथमिकताका साथ तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।
अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय बद्रीबहादुर कार्की र टीकाराम भट्टराई तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल र अधिवक्ता रमण कर्ण सिफारिस भएका थिए ।
तर, पछि सर्वोच्च प्रशासनको टिप्पणी र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको निर्णयबाट मुद्दालाई संविधानको धारा १३७(३) अनुसार पाँच सदस्यीय संवैधानिक इजलासमा पठाइएको थियो ।
यस निर्णयप्रति नेपाल बार एसोसिएसन र रिट निवेदक अधिवक्ता डा. प्रेमराज सिलवालले असन्तुष्टि जनाएका छन् । पूर्ण इजलासमा पठाउने न्यायिक आदेशलाई प्रशासनिक टिप्पणीबाट उल्ट्याइएको तथा संवैधानिक इजलास गठन गर्दा वरिष्ठता वा गोलाप्रथाको प्रक्रिया मिचेर ‘पिक एन्ड चुज’ शैली अपनाइएको उनीहरूको आरोप छ ।
संवैधानिक इजलास गठनको विवादका कारण असोज २१ गतेदेखि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको छैन । डेढ महिनाभन्दा लामो समय संवैधानिक इजलास ठप्प हुँदा आयोगसम्बन्धी रिटको सुनुवाइसमेत अघि बढ्न सकेको छैन ।
आयोगको काम पुनः सुरु हुने वा गठन नै खारेज हुने भन्ने विषय सर्वोच्च अदालतको आगामी प्रक्रिया र अन्तिम फैसलामा निर्भर छ ।
संवैधानिक इजलास गठनसम्बन्धी वरिष्ठता, गोलाप्रथा वा प्रधानन्यायाधीशको तजबिजमा आधारित प्रक्रियाबारेको विवाद समाधान नभएसम्म सुनुवाइ अघि बढ्न कठिन देखिन्छ । इजलास नियमित भएपछि आयोगविरुद्धका रिट तथा पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा पठाउने भन्ने विवादले पुनः प्रवेश पाउनेछ ।
सुनुवाइका क्रममा मुख्यतः ६ वटा संवैधानिक प्रश्न निरूपण हुनुपर्नेछ ।
संविधानको धारा २३९ ले भ्रष्टाचार अनुसन्धानको अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको अवस्थामा जाँचबुझ आयोग ऐन, २०२६ अनुसार छुट्टै सम्पत्ति छानबिन आयोग गठन गर्नु संविधानसम्मत हो कि होइन ?
महाभियोग वा न्यायपरिषद्बाट पदमुक्त हुने न्यायाधीश तथा सैनिक ऐनअन्तर्गत पर्ने अधिकारीमाथि छुट्टै आयोगले छानबिन गर्न मिल्छ कि मिल्दैन ?
संविधानको धारा १३२(२) को सन्दर्भमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशले यस्तो आयोगको नेतृत्व गर्न मिल्छ कि मिल्दैन ?
व्यक्तिको सम्पत्ति विवरण संकलन तथा जाँचबुझले संविधानको धारा २८ अन्तर्गतको वैयक्तिक गोपनीयताको हकमा असर गर्छ कि गर्दैन ?
आयोगको क्षेत्राधिकार र अनुसन्धानको प्रकृतिले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारमा हस्तक्षेप गर्छ कि गर्दैन ?
आयोगले सम्पत्ति विवरण संकलन, तथ्य जाँच तथा प्रतिवेदन तयार गर्ने अधिकार प्रयोग गर्दा कानुनी सीमाभित्र रहेर काम गर्न सक्छ कि सक्दैन ?
चार जना एमिकस क्युरी, सरकारी पक्ष र रिट निवेदकहरूको बहसपछि सर्वोच्च अदालतले अन्तिम फैसला गर्नेछ । सरकारले लिखित जवाफमा आयोगले मुद्दा चलाउने नभई विवरण संकलन, तथ्य जाँच र प्रतिवेदन बुझाउने मात्रै भएकाले अख्तियारको क्षेत्राधिकार नमिचिएको दाबी गरेको छ ।
सर्वोच्च अदालतको अन्तिम फैसलाले आयोगको भविष्य निर्धारण गर्नेछ । फैसला आयोगको पक्षमा आए, क्षेत्राधिकार सीमित गरिए वा आयोगको गठन नै असंवैधानिक ठहरिए फरक–फरक अवस्था सिर्जना हुनेछ ।
१. आयोगले वैधता पाए छानबिन अघि बढ्ने
सर्वोच्चले रिट खारेज गरी आयोगलाई वैधता दिएमा अन्तरिम आदेश निष्क्रिय हुनेछ र आयोगले छानबिनको काम पुनः सुरु गर्न सक्नेछ ।
संकलित १८ हजारभन्दा बढी फाइलमा सम्बन्धित व्यक्तिको तलब, भत्ता, पैतृक सम्पत्ति, सेयर, व्यवसायलगायत वैध आम्दानीका स्रोतसँग सम्पत्तिको तुलना गरिनेछ । स्रोत नखुलेका वा शंकास्पद सम्पत्ति भएका व्यक्तिलाई बोलाएर बयान लिने तथा सम्पत्ति विवरण नबुझाएकाहरूलाई पुनः ताकेता गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
तर, पाँच महिनाभन्दा बढी समय काम रोकिएकाले सरकारले आयोगको म्याद थप गर्नुपर्ने अवस्था आउन सक्छ । आयोगले छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएपछि सरकारले ४५ दिनभित्र कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने व्यवस्था रहेको छ ।
२. छानबिनको दायरा सीमित भए संशोधित क्षेत्राधिकारमा काम हुने
सर्वोच्चले राजनीतिक पदाधिकारी तथा निजामती र सार्वजनिक संस्थानका कर्मचारीको सम्पत्ति छानबिनलाई वैध ठहर गर्दै पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश, संवैधानिक पदाधिकारी वा सैनिक अधिकारीमाथिको छानबिनमा रोक लगाउन सक्छ ।
त्यस्तो अवस्थामा आयोगले अदालतले निर्धारण गरेको सीमाभित्र रहेर छानबिन अघि बढाउनुपर्ने हुन्छ ।
३. आयोग नै खारेज भए संकलित फाइलको व्यवस्थापन चुनौतीपूर्ण
सर्वोच्चले आयोगको गठन असंवैधानिक ठहर गरी खारेज गरिदिए आयोगको अस्तित्व समाप्त हुनेछ ।
त्यसपछि संकलित १८ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरीका फाइललाई गोपनीयताको कानुनी प्रबन्धअनुसार सुरक्षित रूपमा फिर्ता गर्ने, नष्ट गर्ने वा प्रचलित कानुनबमोजिम अख्तियारलगायत सम्बन्धित निकायमा हस्तान्तरण गर्ने विषय अदालतको फैसला र सरकारी निर्णयअनुसार टुंगो लाग्नेछ ।
आयोगको कार्यक्षेत्रमा उच्च राजनीतिक पदाधिकारीदेखि प्रशासनिक अधिकारी, सुरक्षा निकायका उच्च कर्मचारी, सार्वजनिक संस्थानका पदाधिकारी तथा विभिन्न सरकारी निकायमा उच्च तहमा कार्यरत कर्मचारीसम्म समेटिएका छन् ।
सम्पत्ति छानबिनको दायरामा पर्ने प्रमुख पदाधिकारी तथा कर्मचारीहरूमा :
पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री
तत्कालीन संसद् सदस्य तथा संविधानसभा सदस्य
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी
पूर्वन्यायाधीश तथा नेपाली सेनाका सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा सोसरह र माथिका अधिकारी
प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री तथा प्रदेशसभा सदस्य
महान्यायाधिवक्ता तथा मुख्यन्यायाधिवक्ता
जिल्ला विकास समिति तथा जिल्ला समन्वय समितिका पदाधिकारी
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष
नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुख र कर्मचारी
निजामती सेवा, संसद् सेवा, स्वास्थ्य सेवा, राष्ट्रिय मानव अधिकार सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका राजपत्रांकित प्रथम श्रेणी वा सोसरह र माथिका कर्मचारी
कार्यालय प्रमुखका रूपमा कार्यरत वा कार्य गरिसकेका राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहका कर्मचारी
नेपाल राष्ट्र बैंकका गभर्नर, सञ्चालक, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा उच्च तहका कर्मचारी
सरकारी बैंक तथा वित्तीय संस्था, आयोग, प्रतिष्ठान, प्राधिकरण, बोर्ड, समिति र केन्द्रका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत
सरकारी स्वामित्वका सार्वजनिक संस्थानका उच्च पदाधिकारी तथा कर्मचारी
सरकारी अनुदान प्राप्त विश्वविद्यालय, प्रतिष्ठानलगायत निकायका पदाधिकारी तथा उच्च तहका कर्मचारी
त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री, मुख्यमन्त्री, संवैधानिक निकायका प्रमुख तथा सदस्यलगायत पदाधिकारीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव वा यस्तै पदमा रहेर काम गरेका व्यक्तिहरूको सम्पत्ति पनि छानबिनको दायरामा राखिएको छ ।
आयोगको कार्यक्षेत्र व्यापक रहे पनि सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म यी पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्ने छैन ।