२०८३ मंसिर १०, बुधबार

बालश्रम विधेयकमाथिको छलफलमा १३ वर्ष पुगेका बालबालिकालाई हलुका काममा लगाउन सकिने प्रस्ताव, संवैधानिक अधिकार र गरिबीका कारण बालश्रम हुने अवस्थाबारे सांसदहरूले चासो उठाएका छन् ।

बालश्रम विधेयकमाथि छलफल : १३ वर्षमै हलुका काम गर्न दिने प्रस्तावमा सांसदहरूको चासो

१३ वर्षमै हलुका काम गर्न दिने प्रस्तावमा संसदीय समितिमा बहस
बालश्रम विधेयकमाथि छलफल : १३ वर्षमै हलुका काम गर्न दिने प्रस्तावमा सांसदहरूको चासो

९ मंसिर, काठमाडौं । बालश्रमसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । छलफलका क्रममा बालबालिकालाई श्रममा प्रवेश गराउने उमेर, संवैधानिक अधिकार, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा बालश्रमको सामाजिक र आर्थिक कारणबारे सांसदहरूले चासो व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद कृपाराम रानाले विधेयक संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल हुनुपर्नेमा जोड दिए । उनले बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार सुरक्षित हुने गरी विधेयक अघि बढाउनुपर्ने बताए ।

सांसद सोम शर्माले भने बालश्रमलाई कानुन र जरिवानाबाट मात्रै नियन्त्रण गर्न नसकिने भन्दै परिवारको आर्थिक अवस्था, रोजगारीको अभाव र बालबालिका काममा जानुपर्ने बाध्यतासमेत सम्बोधन गर्नुपर्ने धारणा राखे ।

सरकारले ल्याएको बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । यही प्रावधानसहित बालश्रमको स्वरूप, काम गर्ने समय, रोजगारदाताको दायित्व तथा बालबालिकाको संरक्षणसम्बन्धी विषयमा समितिमा छलफल भइरहेको छ ।

संवैधानिक अधिकार कुण्ठित हुन नहुने सांसद रानाको जोड

सांसद कृपाराम रानाले विधेयकको सैद्धान्तिक पक्षमा संविधानको धारा ३९ मा प्रत्याभूत बालबालिकाको मौलिक हकलाई केन्द्रमा राखेर समीक्षा गर्नुपर्ने बताए ।

संविधानले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक सुनिश्चित गरेको भन्दै उनले प्रस्तावित विधेयकले ती अधिकार कुण्ठित गर्न नहुने बताए ।

विधेयकका प्रावधान संविधानसँग बाझिएका छन् कि छैनन् भन्ने विषय सैद्धान्तिक र नीतिगत रूपमा पहिला परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

उनले संविधानको धारा ३९ को उपधारा २ मा उल्लेख बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार तथा उपधारा ४ मा कलकारखाना, खानी र जोखिमपूर्ण काममा बालबालिकालाई लगाउन नपाइने व्यवस्थालाई विधेयकले पर्याप्त सुनिश्चित गरेको छ कि छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताए ।

विधेयकको अनुसूचीमा समेटिएका श्रमका प्रकृतिमाथि पनि सूक्ष्म छलफल आवश्यक रहेको र कामको प्रकृति तथा परिस्थितिअनुसार जोखिम फरक हुने भएकाले बालबालिकालाई काममा लगाउन सकिने सीमाबारे स्पष्ट व्यवस्था हुनुपर्ने रानाको भनाइ छ ।

अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको अवस्थालाई सँगै हेर्नुपर्ने

रानाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि १३८ ले न्यूनतम श्रम उमेर १५ वर्ष निर्धारण गरेको विषय उठाए । तर, नेपालका बालबालिकाको पोषण, पारिवारिक अवस्था, भूगोल र सामाजिक परिवेशलाई पनि उमेर निर्धारणको बहसमा ध्यान दिनुपर्ने उनले बताए ।

विकसित, विकासोन्मुख तथा पछाडि परेका राष्ट्रका बालबालिकाको वृद्धि र विकासको अवस्था फरक हुन सक्ने भन्दै उनले श्रममा प्रवेश गर्ने उमेर निर्धारण गर्दा सामाजिक तथा आर्थिक परिवेशसमेत विचार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, आईएलओ महासन्धि १८२ ले बालश्रमका खराब स्वरूप तत्काल निषेध र उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यसलाई पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्ने उनको भनाइ छ ।

बालबालिकालाई श्रममा प्रवेश गराउनेभन्दा उनीहरूको शिक्षा, बाल्यकाल र समग्र विकासलाई संरक्षण गर्नु विधेयकको प्राथमिकता हुनुपर्ने रानाले बताए ।

बालश्रमको कारण गरिबी पनि : सोम शर्मा

सांसद सोम शर्माले बालश्रमलाई कानुनी प्रावधानबाट मात्रै नियन्त्रण गर्न नसकिने बताए । बालबालिकालाई काममा लगाउनुका कारण खोज्दा पारिवारिक आर्थिक अवस्था, संरक्षणको अभाव, शिक्षा तथा रोजगारीको कमी र बालबालिकाको दुरुपयोगजस्ता पक्ष देखिने उनको भनाइ छ ।

उनले अभिभावकको संरक्षणबाट बाहिर रहेका बालबालिका, ग्रामीण क्षेत्रबाट पढाइका लागि भन्दै अरूको जिम्मामा पठाइएका बालबालिका तथा आर्थिक अभावका कारण काममा पठाइएका बालबालिकाको अवस्थालाई छुट्टाछुट्टै अध्ययन गर्नुपर्ने बताए ।

‘बालबालिकाले आफ्नो जीवन राम्रो देख्न सकेन, अर्को चाहिँ परिवारले आफ्नो जीवन राम्रो देख्न सकेन,’ शर्माले बालश्रमको कारण विश्लेषण गर्दा देखिने दुई अवस्था उल्लेख गर्दै भने ।

उनका अनुसार ग्रामीण क्षेत्रका कतिपय परिवार आर्थिक अभावका कारण बालबालिकालाई काठमाडौंलगायत सहरमा काम गर्न पठाउन बाध्य छन् । यस्तो अवस्थामा बालश्रम रोक्न आग्रह मात्रै पर्याप्त नहुने भन्दै उनले परिवारको आर्थिक अवस्थासमेत सुधार गर्नुपर्ने बताए ।

‘यसो नगर्नुस् न भन्दा पनि उहाँहरूले किन नगर्ने ? कि त तिमीहरूले खान देऊ, कि त हामीलाई पैसा देऊ । यहाँ परिवार पाल्न गाह्रो भइरहेको छ,’ ग्रामीण क्षेत्रका परिवारको बाध्यता उल्लेख गर्दै उनले भने ।

बालश्रम निषेध गर्ने कानुन आवश्यक भए पनि आर्थिक बाध्यतामा परेका परिवारलाई सरकारले संरक्षण र सहयोगको विश्वास दिलाउनुपर्ने शर्माको तर्क छ ।

उनले बालबालिकालाई श्रममा लगाउने नियतबाट हुने कार्यलाई कानुनले रोक्नुपर्ने, तर आर्थिक बाध्यताका कारण बालबालिकालाई काममा पठाउने परिवारको अवस्था सुधार गर्न रोजगारी र आर्थिक सुरक्षाको व्यवस्था आवश्यक रहेको बताए ।

‘त्यस्ता व्यक्तिहरूलाई रोजगार पनि प्रबन्ध गर्न सकियो र सरकारले त्यसको इनिसिएसन लियो, विश्वासको वातावरण क्रिएट गरिदियो भने सम्भवतः ती बालश्रमलाई एक हदले रोक्न सकिन्छ,’ उनले भने ।

बालश्रम रोक्न आर्थिक अवस्था कमजोर भएका परिवारलाई रोजगारी उपलब्ध गराउने, सरकारले विश्वासको वातावरण बनाउने र बालबालिकालाई काममा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पहल गर्नुपर्ने शर्माको सुझाव छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस