१८ भदौ काठमाडौँ / आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक(आईजीपी) दीपक थापा र अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाई गरिएको छ । प्रहरी प्रधान कार्यालयले दिउँसो २ बजेदेखि विदाइको कार्यक्रम राखेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए ।
विदाइ कार्यक्रमपछि तीनैजनालाई प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पुर्याउने तयारी गरिएको छ । उनीहरूलाई भावि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विदाइ गर्ने कार्यक्रम रहेको छ ।
अघिल्लो साता नै खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।
अवकासमा जाने थापाले आईजीपी गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए । नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी विदा भएका हुन् । दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो । उनीहरू तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए ।
गिरी राष्ट्रिय प्रहरी प्रपशिक्षण प्रतिष्ठानमा र तामाङ काठमाडौँ उपत्यका प्रही कार्यालय रानीपोखरीको प्रमुख छन् । उनीहरू अवकास भएसँगै बिहीबारदेखि सीआईबीसहित यी कार्यालय पनि प्रमुखबिहिन हुँदैछन्। यससँगै चार जना एआईजीको दरबन्दी पनि रिक्त हुँदैछ । आजै उनीहरूलाई गृहमन्त्रालयबाट गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पनि बिदाइ गरिसकेका छन् ।