२०८२ श्रावण १८, शनिबार

सरकारले महत्वपूर्ण उपलव्धि हासिल गरेको छः पद्मा अर्याल

सरकारले महत्वपूर्ण उपलव्धि हासिल गरेको छः पद्मा अर्याल

९ साउन बुटवल / नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सचिव पद्मा अर्यालले सरकारले गरेका काम र प्राप्त उपलव्धिहरुलाई जनतामाझ लैजान पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।

एमाले नेतृत्वको गठबन्धन सरकारले मुलुकको असहज परिस्थितिका बाबजुद पनि विकास निर्माणका सवालमा महत्वपूर्ण उपलव्धि हासिल गरेको तर मुलुकमा केही भएन भनेर निराशा र तथ्यहीन तर्क गरेर गलत भाष्य सिर्जना गर्न खोजिएको भन्दै उहाँले भएका विकास निर्माणका कामलाई जनतामाझ लैजान आग्रह गर्नुभएको हो ।

नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापनसम्वन्धी सञ्चालन गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा बोल्दै सचिव अर्यालले यस्तो बताउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरु आन्दोलनमा रहेको स्मरण गर्दै उहाँले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । “यो मात्र होइन नेपालमा सुरुङ मार्ग असम्भव छ भन्नेहरुलाई सरकारले सम्भव बनाएर देखाएको छ, काँग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ”–उहाँले भन्नुभयो–“सबै आर्थिक सूचकहरु बढेका छन्, यी महत्वपूर्ण उपलव्धि हुन् ।”

सामाजिक अराजकता मुलुकमा व्याप्त निराशाको प्रमुख कारण रहेको जिकिर गर्दै एमाले सचिव अर्यालले निराशालाई चिर्न कार्यकर्ताले आम जनतामा उत्साह भर्न सक्नुपर्ने बताउनुभयो ।

पार्टीमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको र अव यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा नअलमलिन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । “उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोंचीविचारी हटाइएको हो, यो व्यवस्था यसअघि नै निष्क्रिय भैसकेको थियो”–सचिव अर्यालले भन्नुभयो ।

त्यस्तै मुलुकको अभिभावक भैसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महसुस गरेर पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको पनि अर्यालको भनाई छ ।

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र अनुशासन र सुशासन महत्वपूर्ण विषय भएकाले यसतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई एउटै विधि र तरिकाले सञ्चालन गर्न सकियोस् भनेर प्रशिक्षण आयोजना गरिएको बताउनु भयो ।

समापनका अवसरमा बोल्दै एमाले प्रदेश उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोज प्रसाद श्रेष्ठले एमालेले लिएका नीति, कार्यक्रम र योजना कार्यान्वयनका लागि सबै कमिटी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । तीनदिने प्रशिक्षणको पहिलो दिन प्रदेश कमिटी सदस्य युवराज घिमिरेले बैठक सञ्चालन र माइन्युट लेखन र दलवहादुर गुरुङ्ले तालिम व्यवस्थापनवारे सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै दोश्रो दिन पार्टी गतिविधिको प्रचार शैली र प्रचारका माध्यम विषयमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डी.आर. घिमिरे, जन संगठन सञ्चालनमा पार्टीको दायित्व विषयमा प्रदेश कमिटी सदस्य कल्पना थापा, पार्टी र विकास निर्माणमा पार्टी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै संगठन र पार्टी सञ्चालन विधिमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, अर्थ राजनीतिमा केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनालले सहजीकरण गर्नुभएको एमाले स्कुल विभाग सदस्य विक्रम खनालले जानकारी दिनुभयो ।

त्यस्तै योजना र छनौट विधिमा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्याल, मार्क्सवाद र जनताको वहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सामयिक राजनीति र भोलिको एमाले विषयमा केन्द्रीय सचिव एवं इन्चार्ज पद्मा अर्यालले सहजीकरण गर्नुभएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस