२२ असार काठमाठडौँ / दाङमा पाटेबाघको छालासहित तीन जना पक्राउ परेका छन् । शनिबार मध्यराति १ बजेतिर गढवा गाउँपालिका– ६ खवारीबाट प्रहरीले तीन जनालाई छालासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
पाटे बाघको छालाको किनबेच हुन लागेको भन्ने सूचना वडा कार्यालय लमहीले सूचना पाएको थियो । उक्त सूचनापछि वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोली खटिएको थियो ।
उक्त टोलीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको हो । छालासहित खवारीका ४१ वर्षीय विक्रम बुढामगर, राजपुर–१का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारू छन् ।
पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ । थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको छ ।
स्रोतका अनुसार पाटे बाघ शिकारीले दाङकै जंगलमा मारेका थिए । चौधरी र ठकुरीले मिलेर छाला बेच्नका लागि विभिन्न व्यक्तिहरूसँग डिल गरिरहेका थिए ।
‘सोह्र लाखमा किनबेच हुने गरी डिल भइरहेको खुलेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘एक जना भारतीय नागरिकले ह्वाट्सएपमा मूल्यको बार्गेनिङ गर्दै सोह्र लाखमा किन्नका लागि अन्तिम डिल भएको देखिन्छ ।’