असार ३, दाङ / बहुप्रतिक्षित तुलसीपुर–घोराही चारलेन सडक स्तरोन्नतिको ठेक्का दिवा–वन्दन भगवती जेभी काठमाडौंले पाएको छ ।
मदन भण्डारी सडक मार्ग परियोजनाले खोलेको आर्थिक प्रस्तावनामा उक्त निर्माण कम्पनीले सबैभन्दा कम बजेट अंक कबोल गरेको पाइएपछि सोही कम्पनीलाई ठेक्का दिने अन्तिम तयारी परियोजनाले गरेको छ । यद्यपि सोही कम्पनी आर्थिक प्रस्तावना मूल्याङ्कनमा छनोट भइसकेको पत्र भने पत्र भने सार्वजनिक गर्न बाँकी छ । दिवा–वन्दन भगवती जेभीले २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ३८ रूपैयाँ ६ पैसामा ठेक्का पार्न सफल भएको छ । यसका कम्पनीका संचालक रामजी पन्त(मुकेश) र उत्तम बस्नेत हुन् । छनोट भएको यस कम्पनीलाई परियोजनाले एक साताको आशयपत्र दिनेछ ।
मदन भण्डारी सडक मार्ग परियोजनाका प्रमुख दीप वाराहीले आर्थिक प्रस्तावनामा छनोट भएको कम्पनीलाई एक साताको अवधिको आशयपत्र दिने तयारी भएको छ । त्यसपछि थप पन्ध्र दिनपछि आयोजनाको निर्माण सम्झौता हुनेछ । असार तेस्रो सातासम्म आयोजनाको निर्माण सम्झौता भइसक्ने छ । वर्षात् फाटेलगत्तै निर्माण कम्पनीले काम थाल्ने छ । चारलेन सडक परियोजनाका लागि परियोजनाले करिब पौनेचार अर्बको ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वान भएपछि एकजना निर्माण व्यवसायीले आफू पनि सो ठेक्का प्रक्रियामा सहभागी हुन पाउने भन्दै सार्वजनिक खरिद समितिमा निवेदन दिएका कारण ठेक्का सम्झौतामा केही ढिलाइ भएको थियो ।
अघिल्लो निर्माण कम्पनीले काम नगर्दा लथालिंग बनेको तुलसीपुर–घोराही सडकखण्डको करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रको स्तरोन्नतिको काम अर्को आर्थिक वर्षमा सुरु हुनेछ । स्तरोन्नतिको काम छिटो गर्न मोबिलाइजेसन पेस्कीको व्यवस्थापन गर्न सरकारी संयन्त्रसँग संम्वाद अघि बढाइएको चारलेन सडक स्तरोन्नतिका पहलकदपी लिएका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सम्झौता भएको मितिले तीन वर्ष अर्थात् ३६ महिनाभित्र काम सकिसक्नु पर्नेछ । मदन भण्डारी राजमार्ग निर्देशनालयले तुलसीपुर–घोराही सडकको स्तरोन्नतिका लागि गत फागुन १ गते पहिलो पटक बोलपत्र आह्वान गरेको थियो ।
तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको झन्डै २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९९ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो । तुलसीपुर–घोराही सडकखण्ड सहरी सडक भएको हुँदा राष्ट्रिय सडक मापदण्ड अनुरूप बिबिएम र अस्पाल्ट विधिबाट कालोपत्रे गर्ने सर्त छ ।
बिबिएम ६ सेन्टिमिटर र अस्पाल्ट ४ सेन्टिमिटर मोटाइमा कालोपत्रे गर्ने प्रावधान छ । बोलपत्र अनुसार गाडी गु्ड्ने दुबै तर्फको भागमा ७/७ मिटर गरी सडकको १४ मिटर कालोपत्रे गरिने छ ।सडकको कुल भाग भने १५ मिटर एकतर्फ पिच हुनेछ भने बाँकी भाग फुटपाथका लागि छुट्याइएको छ ।
चार लेन सडकको बीचमा अवस्था हेरि साढे १ मिटरदेखि साढे २ मिटरसम्मको मेडियम पनि निर्माण गरिने छ । अलि घना बस्ती भएको क्षेत्रमा २ मिटरदेखि त्योभन्दा बढी साढे २ मिटरसम्मको कभरसहितको फुटपाथ नाला निर्माण गरिने छ ।
बीचको मेडियम सडक सौन्दर्यकरणका लागि हुनेछ । त्यसमा बोट बिरूवा लगाउनेदेखि सडक सुरक्षाका कुराहरू पनि राख्न सकिने छ ।
यसअघि यो सडक स्तरोन्नतिको काम २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले ठेक्का पाएको थियो । सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने उल्लेख थियो ।
भारतीय निर्माण कम्पनी तथ्यले जिम्मा लिए अनुरूप काम नगरेपछि दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले २०८० जेठमा रद्द गरेको थियो ।
तुलसीपुर–घोराही सडक खण्डमा यात्रा गर्न निकै सास्ती खेप्नुपर्ने भएपछि सरकार र जनप्रतिनिधिको ब्यापक आलोचना हुने गरेको थियो ।
त्यसबीचमा सरकारले चारलेनकालागि बजेट नछुट्याएपनि एमाले महासचिव शंकर पोखरेलको पहलकदमीमा मदन भण्डारी राजमार्ग निर्देशनालय मार्फत काम हुनेगरी बजेट सुनिश्चित गरिएको थियो । महासचिव सचिव पोखरेलले त्यसकालागि अर्थमन्त्री बिष्णु पौडेल र भौतिक योजना मन्त्रालयका उच्च अधिकारीसँग पटकपटक छलफल गरेका थिए ।