२०८३ मंसिर १०, बुधबार

आयात ३१.७७ र निर्यात ४३.४८ प्रतिशतले बढ्यो, भारतसँग सबैभन्दा ठूलो व्यापार घाटा

चार महिनामा ८ खर्बको आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्ब

चार महिनामा ८ खर्बको आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्ब
चार महिनामा ८ खर्बको आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्ब

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले ८ खर्ब ३ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । सो अवधिमा १ खर्ब ३४ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको छ । निर्यातको वृद्धिदर आयातभन्दा बढी भए पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा भने २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

साउनदेखि कात्तिकसम्म नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

आयातमा तेल र इन्धनको हिस्सा ठूलो

चार महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुमा कच्चा भटमासको तेल रहेको छ । उक्त अवधिमा ६२ अर्ब ८१ करोड रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ ।

त्यस्तै, ५९ अर्ब २८ करोड रुपैयाँको डिजेल, ३४ अर्ब ४३ करोड रुपैयाँको पेट्रोल र २९ अर्ब ४७ करोड रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । हवाई इन्धनसमेत जोड्दा यी चार इन्धनको आयात १ खर्ब ३६ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, जुन कुल आयातको करिब १७ प्रतिशत हो ।

शीर्ष १० आयातित वस्तुमा फलामजन्य पदार्थ, स्मार्टफोन, युरिया मल, विद्युतीय सवारीसाधन र डीएपी मलसमेत परेका छन् । चार महिनामा २० अर्ब ६८ करोड रुपैयाँको स्मार्टफोन र २० अर्ब ३१ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ ।

कुल निर्यातको झन्डै आधा भटमासको तेल

निर्याततर्फ कच्चाबाहेकको भटमासको तेल र त्यसका अंश सबैभन्दा अगाडि छन् । चार महिनामा ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको यस्तो तेल निर्यात भएको छ । यो कुल निर्यातको ४५.७३ प्रतिशत हो ।

निर्यात हुने प्रमुख वस्तुमा गाँठे ऊनी वा पशु रौँका गलैँचालगायत भुइँ ढाक्ने सामग्री दोस्रो स्थानमा छन् । यी सामग्री ३ अर्ब ९० करोड रुपैयाँ बराबर निर्यात भएका छन् ।

त्यस्तै, ठूलो अलैँची ३ अर्ब ४४ करोड रुपैयाँ बराबर निर्यात भएको छ । जूट वा त्यस्तै रेशाबाट बुनेको कपडा, कच्चाबाहेकको सूर्यमुखी वा कुसुमको तेल तथा प्रशोधित पाम ओलिन तेल पनि प्रमुख निर्यातित वस्तुको सूचीमा छन् ।

१०४ देशसँग व्यापार घाटा, ३४ देशसँग बचत

नेपालले तथ्यांकमा समेटिएका १३८ देश तथा क्षेत्रमध्ये १०४ सँग व्यापार घाटा र ३४ सँग व्यापार बचत गरेको छ ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ३ खर्ब ४९ अर्ब ४९ करोड रुपैयाँ व्यापार घाटा भएको छ । त्यसपछि चीनसँग १ खर्ब ६३ अर्ब २६ करोड रुपैयाँ घाटा रहेको छ ।

कुल निर्यातको करिब ८४ प्रतिशत भारततर्फ गएको तथ्यांकले देखाउँछ ।

आयात र निर्यात दुवैमा वीरगञ्ज पहिलो

भन्सार कार्यालयमध्ये वीरगञ्ज भन्सार आयात र निर्यात दुवैमा पहिलो स्थानमा रहेको छ । देशभरको कुल आयातको ४८.४९ प्रतिशत र कुल निर्यातको ४०.३७ प्रतिशत वीरगञ्ज भन्सारमार्फत भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस