२४ वैशाख काठमाडौँ / मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८ः१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो ।
इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी मनहरि अस्पताल पठाइएको हो ।
प्रहरीका अनुसार राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वरिपरि बुद्धिमान घलान, ७५ वर्षीय डिल ब। घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको छ । उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।