२०८२ पौष १५, मंगलबार

भ्रष्टाचारमा मुद्दा दायर

ई–सेवाबाट घुस लिएको पुष्टि पछि भ्रष्टाचारमा मुद्दा दायर

यातायात व्यवस्था कार्यालय भरतपुरमा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ई–सेवाबाट घुस लिएको पुष्टि पछि भ्रष्टाचारमा मुद्दा दायर

पुस १४,काठमाडौँ / यातायात व्यवस्था कार्यालय भरतपुरमा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ब्लुबुक नवीकरण, जाँचपास र परमिट लगायतका काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले सोमबार आरोपपत्र दायर गरेको हो।

गुरुङले भ्रष्टाचारको कसुर छल्न चलाखीपूर्ण तरिका अपनाएको अनुसन्धानबाट खुलेको छ। उनले आफू सरकारी कर्मचारी भएकाले सिधै रकम लिँदा समस्या पर्ने भन्दै कार्यालय बाहिरको एक व्यक्तिलाई झुट्टा आश्वासन दिएर प्रयोग गरेका थिए। ती व्यक्तिको ‘ई–सेवा’ खातामा सेवाग्राहीबाट घुसको रकम जम्मा गर्न लगाई गुरुङले आफ्नो सानिमा बैंकको खातामा पटक–पटक रकम ट्रान्सफर गरेको अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले गुरुङलाई गत जेठ ३० गते उनको कार्यकक्षबाटै १ लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा उनले १ लाख ६१ हजार ३४० रुपैयाँ घुस लिएको प्रमाणित भएको छ।
अख्तियारले सोही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बराबरको जरिवाना सजाय माग गर्दै मुद्दा दर्ता गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस