
पुस १७, परासी / पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा आज बिहान दुई जना मजदुर मृत फेला परेका थिए । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।
बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यास फायर डिउटीमा खटिएका उनीहरू मृत फेला परेको थियो । घटनाको विषयलाई लिएर अहिले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवालहरूको छलफल भइरहेको छ । छलफल निष्कर्षमा नपुगेसम्म शव नउठाउने स्थानीय र आफन्तले अडान लिएका छन् ।
मृतकका आफन्तले भने घटनाबारे आफूहरूलाई समयमै खबर नगरिएको भन्दै उद्योग परिसर अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले जोखिमपूर्ण काममा लगाएर ’ग्यासी फायरिङ’मा अक्सिजनको कमी भएर मृत्यु भएको भन्दै आवश्यक अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।
बर्दघाट–१३ का वडाध्यक्ष नरबहादुर चौधरीले घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने, मृतकका परिवारले उचित क्षतिपूर्ति र रोजगारी पाउनुपर्ने बताए ।