
फागुन ८,काठमाडौँ /अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा कनेक्सन देखिएको छ । अधिकारी अहिले भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय डिल्लीबजारमा छन् । अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितातबारे आफुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई प्रयोग गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।