
८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । उनले वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले आयोजना रोकिए मधेशमा आन्दोलन हुन सक्ने बताएका हुन् ।
‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन,’ उनले भने ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेशका लागि महत्वपूर्ण परियोजना भएको भन्दै उनले काम रोकिँदा प्रदेशका कृषक तथा नागरिक निराश भएको बताए । आयोजना अघि बढाउने स्पष्ट कार्ययोजना, काम रोकिएको कारण र आगामी बाटोबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।
करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको भन्दै झाले यसलाई राष्ट्रिय गौरवको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाइएको बताए ।
आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भए पनि त्यसपछि काम अघि नबढेको भन्दै उनले प्रश्न उठाए ।
‘ब्रेक थ्रु भइसकेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन । यो नबढ्नुको कारण के हो, बन्द हुने स्थिति के हो र आगामी वे फरवार्ड के हो ? यी तीनवटा कुरामा थप स्पष्टता भइदिए राम्रो हुन्थ्यो,’ उनले भने ।
मधेशमा कृषि नै प्रमुख आर्थिक स्रोत रहेको उल्लेख गर्दै झाले सिँचाइ आयोजना अन्योलमा रहँदा कृषि उत्पादन र क्षेत्रको भविष्य प्रभावित हुने बताए ।
‘मधेशसँग देखाउनलाई हिमाल छैन, उत्पादन गर्न हाइड्रो पनि छैन । भएकै एउटा खेती छ, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ,’ उनले भने ।
सुनकोशी–मरिण डाइभर्सनले मधेशमा बढ्दो मरुभूमीकरण रोक्न र पानीको उपलब्धता बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा नागरिकले राखेको भन्दै उनले आयोजना अघि बढाउन अनावश्यक ढिलाइ नगर्न आग्रह गरे ।
आयोजना अघि बढाउने स्पष्ट योजना भए सांसदहरूले संसद् तथा विभिन्न निकायमा आवाज उठाएर काम अघि बढाउन दबाब दिन सक्ने भन्दै झाले सम्बन्धित निकायसँग थप जानकारी र समाधानको बाटो प्रस्तुत गर्न माग गरे ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया रद्द गरिएको विषयमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको भन्दै प्रक्रियामाथि प्रश्न उठाइएको हो ।
उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको छ । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियालगायत उपस्थित छन् । रजौरियाले भने ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।