२०८३ मंसिर ९, मंगलबार

अयोध्याबाट १७ डब्बामा एक हजारभन्दा बढी तीर्थयात्री बोकेर सरयू कमला एक्सप्रेस जनकपुरधाम आइपुगेको छ। तीर्थयात्रीलाई भव्य स्वागत गरी जानकी मन्दिर दर्शन गराइने कार्यक्रम छ।

अयोध्याबाट १ हजारभन्दा बढी तीर्थयात्री बोकेर जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस

अयोध्याबाट १ हजारभन्दा बढी तीर्थयात्री बोकेर जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस
अयोध्याबाट १ हजारभन्दा बढी तीर्थयात्री बोकेर जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस

८ मंसिर, जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । रेलमा एक हजारभन्दा बढी तीर्थयात्री रहेको अनुमान छ ।

सोमबार दिउँसो अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका थिए । तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनले नयाँदिल्लीबाट झण्डा देखाएर सोमबार रेललाई बिदाइ गरेका थिए । त्यसपछि रेल अयोध्याबाट जनकपुरका लागि प्रस्थान गरेको थियो ।

नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गरिएको हो । भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरलाई जोड्ने यो सेवाले दुई देशबीचको रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट आएका रेल तथा तीर्थयात्रीलाई रेल्वे स्टेशनसहित विभिन्न स्थानमा स्वागत गरिएको छ ।

उनका अनुसार सरयू कमला एक्सप्रेसका १७ डब्बामा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आएको अनुमान छ ।

‘रेल्वे स्टेशनमा रेल र आउनु हुने तीर्थयात्रीलाई जनकपुरधामवासीसहित हामीले भव्य रूपमा स्वागत गरेका छौं । त्यसका लागि विभिन्न प्रबन्धसँगै यहाँ सांस्कृतिक कार्यक्रम पनि राखेका छौं,’ उनले अनलाइनखबरसँग भने ।

जनकपुरधाममा स्वागत तथा सत्कारपछि तीर्थयात्रीहरू जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार तीर्थयात्रीका लागि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ ।

‘अयोध्याबाट आउनु हुने श्रद्धालुहरूलाई जानकी मन्दिरमा दर्शन पूजाको व्यवस्थापनमा हामी जुटेका छौं । उहाँहरूलाई हामीले स्वागत पनि गर्छौं,’ उनले भने ।

तीर्थयात्रीलाई विभिन्न मन्दिरको दर्शन तथा अवलोकनपछि दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेशन फर्किनुपर्ने तालिका छ । स्टेशनमा खाजा खुवाएर उनीहरूलाई पुनः बिदाइ गरिने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले बताए ।

‘रेल दिउँसो १ बजेसम्म फर्किने समय तालिका छ । तीन घण्टाको अवधिमा यात्रुहरू जति सक्नुहुन्छ, उहाँहरू जनकपुरधामको अवलोकन गरेर फेरि फर्किनुपर्ने हुन्छ,’ उनले भने ।

तीर्थयात्रीको आगमनलाई लक्षित गरी जनकपुरधाम रेल्वे स्टेशन तथा जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस