
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ६ वटा परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय छलफलपछि विभिन्न परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
दुई प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरेका छन् । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने उक्त आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो ।
यसैगरी, बनवासा सुक्खा बन्दरगाहको पनि शिलान्यास गरिएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास भएको छ भने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ ।
दुई प्रधानमन्त्रीले धार्चुला–दार्चुला जोड्ने पक्की पुलको पनि उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधाम र अयोध्यालाई जोड्ने सरयु–कमला एक्सप्रेस रेल सेवा पनि उद्घाटन गरिएको छ ।
रामायण सर्किट परियोजनाअन्तर्गत सञ्चालनमा ल्याइएको रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुर आउने रेललाई बिदाइ गरेका थिए ।
भारतीय रेलवे विभागले यसअघि नै नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको थियो ।
करिब ६०४ किलोमिटर दूरीको उक्त रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ ।
त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट छुटेर जनकपुरधाम आउनेछ ।
६०४ किलोमिटर लामो रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।
जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित भएपछि रामायण सर्किटसँग जोडिएका धार्मिक स्थलहरूको भ्रमण गर्न चाहने पर्यटकलाई सहज हुने तथा नेपाल–भारत धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।