
७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी बैठक सुरु भएको हो ।
बैठकअघि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसअघि राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो ।
गार्ड अफ अनरपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई न्यानो स्वागत गरेका थिए । स्वागतका क्रममा दुवै प्रधानमन्त्रीले अंकमालसमेत गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।
अहिले हैदराबाद हाउसमा दुवै देशका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलबीच बैठक जारी छ ।
बैठकपछि दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।