
७ मंसिर, नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने तयारी पूरा भएको छ । केहीबेरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ ।
समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट बिछ्याइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । समारोहस्थलको एक छेउमा सञ्चारकर्मी र अर्को छेउमा नेपाल तथा भारतका राष्ट्रिय झण्डा बोकेका व्यक्तिहरूलाई राखिएको छ ।
प्रधानमन्त्री शाहले आज बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ ।
बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।