
६ मंसिर, पोखरा । २०६९ वैशाख २३ गते सेती नदीमा आएको विनाशकारी बाढीले कास्कीका तटीय बस्तीमा ठूलो क्षति पुर्यायो । घर, परिवार, सम्पत्ति र थातथलो गुमाएका धेरै नागरिकको जीवन त्यसपछि पनि सामान्य अवस्थामा फर्किन सकेको छैन । बाढी गएको १३ वर्ष बितिसक्दा पनि प्रभावित परिवार सुरक्षित बास, भरपर्दो बाटो र पुनःस्थापनाको पर्खाइमा छन् ।
माछापुच्छ्रे–१ तातोपानीका धेय लामा बाढी आएको दिन बिहान ८ बजे ‘दुई घण्टापछि भात खान आउँछु’ भन्दै निर्माणाधीन तातोपानी जलविद्युत् आयोजनामा काम गर्न निस्किएका थिए । तर उनी घर फर्किएनन् । सेतीको बाढीले उनीसहित धेरैलाई बेपत्ता बनायो ।
‘न लास पाइयो, न सास । अब त आश पनि मर्यो,’ उनका छोरा श्यामल तामाङले भने ।
बुवालाई केही भयो कि भनेर बाढी देखेपछि आयोजनातर्फ दौडिएका श्यामल त्यहाँ पुग्ने बाटो नै नदीले बगाइसकेको देखेपछि फर्किएका थिए । काठ, गेग्रान, भत्किएका घर र रूखबिरुवा बोकेर आएको बाढीको सतह गोडाछेउ आइपुगेपछि उनी घर फर्किए । तर घर पुग्दा परिवार र गाउँले ज्यान जोगाउन माथितिर भागिसकेका थिए ।
बाढी कम भएपछि गाउँलेले जोगिएका भाँडाकुँडा र वस्तुभाउ समेटेर खुला चौरमा पाल टाँगे । घर फर्कने आँट कसैमा थिएन । सेती किनारका धेरै परिवारको विस्थापन त्यहीँबाट सुरु भयो ।
भराभरीका कैले गुरुङ पनि बिहान गोठधन्दा गर्दै थिए । घाचोक र आसपासका गाउँबाट ‘बाढी आयो’ भन्ने आवाज सुनेपछि परिवार लिएर घर छाडे । सेतीको पुल तरेर करिब सय मिटर पुगेका मात्र के थिए, ठूलो आवाज आयो । फर्केर हेर्दा उनी भर्खरै पार गरेको पुल नदीले बगाइसकेको थियो ।
‘त्यसपछि त कतै नहेरी बेतोडले दगुर्यौं,’ उनले सम्झिए । पुलसँगै उनको गाउँका आठ घर पनि बगे ।
२०६९ वैशाख २३ गते आएको बाढीले माछापुच्छ्रे गाउँपालिका र पोखरा उपत्यकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला दैवी प्रकोप उद्धार समिति र तत्कालीन जिल्ला विकास समितिमार्फत असारमा बनेको क्षति सर्वेक्षण समितिको प्रतिवेदनमा १२० जनाको मृत्यु भएको उल्लेख छ ।
प्रतिवेदनअनुसार २८ जनाको शव सनाखत भएको, ३१ जना बेपत्ता रहेको र बाँकी शव पहिचान हुन नसकेको उल्लेख छ । बाढीले १४ घर बगाएको प्रतिवेदनमा उल्लेख छ ।
माछापुच्छ्रे गाउँपालिकाका तातोपानी, खारापानी, सार्दीखोला, छिवाङ, कपुचे, करुवा, साँदल, भराभरी, खोवाङ र घाचोक तथा पोखरा उपत्यकाका हेम्जा, याम्दी र गगनगौंडालगायत बस्ती प्रभावित भएका थिए ।
नदी किनारमा पिकनिक गएका विद्यार्थी, गिटी–बालुवा निकाल्ने मजदुर, पर्यटक तथा सवारीसाधनसमेत बाढीमा बगेका थिए । पोखराबाहिरबाट घुम्न आएका व्यक्तिहरू पनि बाढीमा परेको र उनीहरूको संख्या आधिकारिक विवरणमा नसमेटिएको अनुमान गरिन्छ । तत्कालीन मूल्यअनुसार भौतिक क्षति करिब १० करोड रुपैयाँ आकलन गरिएको थियो ।
तत्कालीन स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । मृत्युको मुचुल्का भएका परिवारले उक्त रकम पाए । क्षति सर्वेक्षण प्रतिवेदनका आधारमा करिब एक वर्षपछि मृतकका परिवारलाई थप एक लाख रुपैयाँ दिइएको थियो । तर मृत्युदर्ता प्रमाणपत्र नभएका बेपत्ता व्यक्तिका परिवार थप राहतबाट छुटे ।
स्थानीयका लागि २०६९ वैशाखको त्यो बाढी अप्रत्याशित थियो । पोखरा–११ शान्तिघाटका मनिष सुनारका अनुसार बिहान घाम चर्किरहेको थियो । स्थानीय रेडियोबाट सेतीमा माथिबाट बाढी आउँदै गरेको खबर प्रसारण भएपछि शान्तिघाटका करिब २५ परिवार सुरक्षित ठाउँतिर भागेका थिए ।
नेपाली टाइम्स साप्ताहिकका अनुसार त्यस दिन एभिया क्लब नेपालका रूसी पाइलट अलेक्जेन्डर म्याक्सिमोभ पर्यटकलाई माछापुच्छ्रे हिमाल नजिकै १० हजार फिट उचाइबाट दृश्यावलोकन गराउँदै थिए । उनले अन्नपूर्ण चौथो हिमालबाट सेती खोंचतर्फ चट्टान र बरफ खस्दा निस्किएको धुलोको मुस्लो देखेपछि पोखरा विमानस्थलको कन्ट्रोल टावरलाई सूचना दिएका थिए ।
त्यसपछि स्थानीय प्रशासनको समन्वयमा पोखराका एफएम रेडियोबाट नदी तटीय क्षेत्र खाली गर्न सूचना प्रसार गरिएको थियो ।
भूगर्भविद्हरूका अनुसार अन्नपूर्ण चौथोबाट चुनढुंगासहित हिमपहिरो खसेर सेतीको माथिल्लो खोंच थुनिएको थियो । थुनिएको पानी अचानक फुट्दा विनाशकारी बाढी आएको थियो ।
पृथ्वीनारायण क्याम्पसका भूगोलविद् खगेन्द्र पौडेलले १५ जुन २०२१ मा प्रकाशित ‘असेसमेन्ट अफ न्याचूरल हजार्ड इन द हिमालयाज अ केस स्टडी अफ द सेती रिभर फ्ल्यास फ्लड २०१२’ अनुसन्धानलाई उद्धृत गर्दै २२ मिलियन घनमिटर चुनयुक्त बरफ र ढुंगा खसेको जानकारी दिए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार त्यसयता पनि सेती जलाधार क्षेत्रमा बाढीपहिरोका घटना दोहोरिँदै आएका छन् ।
बाढी आउँदा दैवी प्रकोप उद्धार ऐन, २०३९ लागू थियो । उक्त ऐनले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको जिम्मेवारी सरकारलाई दिए पनि मुख्य जोड उद्धार, राहत, खाद्यान्न, उपचार र किरिया खर्चमा थियो ।
संविधान, २०७२ ले विपद् व्यवस्थापनलाई संघ, प्रदेश र स्थानीय तहको साझा जिम्मेवारी बनायो । पूर्वसूचना, पूर्वतयारी, उद्धार, राहत, पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरण राज्यका नीतिमा समेटिए । तर सेती प्रभावित बस्तीमा यी काम कसले, कुन बजेटबाट र कहिलेसम्म गर्ने भन्ने प्रश्न अझै अनुत्तरित छ ।
दैवी प्रकोप उद्धार ऐन, २०३९ खारेज गर्दै २०७४ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन आयो । त्यसपछि गृह मन्त्रालयले २०८१ मा ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि’ बनायो ।
कानून र प्रक्रिया थपिए पनि राहत पाउन सहज नभएको स्थानीयको अनुभव छ । पहिले गाविस सचिवले मुचुल्का उठाउँथे । अहिले वडा जनप्रतिनिधिको सिफारिस, प्रहरी मुचुल्का, गाउँ कार्यपालिकाको निर्णय र जिल्ला समितिको अनुमोदन आवश्यक पर्ने गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका विपद् व्यवस्थापन समिति संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार पूर्ण क्षति भएको र अन्यत्र घरजग्गा नभएको परिवारलाई मात्रै जिल्ला समितिमा थप राहतका लागि सिफारिस गरिन्छ ।
‘त्यही पनि जनप्रतिनिधिले सिफारिस गरिदिएमा मात्र,’ करुवाकी बाढीपीडित दिलमाया मगरले भनिन् । उनका अनुसार गाउँमा राजनीतिक पहुँचका आधारमा सिफारिस हुने–नहुने गुनासो छ ।
‘पहिले एक जना कर्मचारीलाई रिझाए पुग्थ्यो, अहिले नौ थरी राजनीति गर्ने सबैलाई रिझाउनुपर्ने,’ उनले भनिन् ।
वडा अध्यक्ष पौडेलका अनुसार संघ र प्रदेशबाट पालिकामा आउने बजेट सीमित छ । नौ वटै वडामा बाँड्दा विपद्का लागि छुट्टिने रकम कम हुन्छ ।
‘वडामा एक–डेढ लाख रुपैयाँभन्दा बढी हुँदैन । क्षतिको प्रकृति र प्राथमिकताका आधारमा त्यही रकम बाँड्ने हो,’ उनले भने ।
सेती बाढीको क्षति सर्वेक्षण प्रतिवेदनमा ३१ जना बेपत्ता भएको उल्लेख छ । तत्कालीन कानूनी व्यवस्थाअनुसार लामो समयसम्म कुनै खबर नआएपछि मात्रै बेपत्ता व्यक्तिलाई कानूनी रूपमा मृत मान्ने प्रक्रिया थियो । मृत्युदर्ता प्रमाणपत्र नहुँदा परिवारले राहत, सम्पत्ति नामसारी र आर्थिक व्यवहारका लागि वर्षौं कुर्नुपर्यो ।
माछापुच्छ्रे–२ का भरतकुमार गुरुङका बुबाआमा दुवैलाई बाढीले बगायो ।
‘ऋण, जग्गा सबै बुबाकै नाममा थियो । जग्गा र ऋणसम्बन्धी व्यवहार मिलाउन निकै गाह्रो भयो,’ उनले भने ।
माछापुच्छ्रे–१ खारापानीका कुशल गुरुङले १३ वर्षको उमेरमा बुवालाई बाढीमा गुमाए । ११ वर्षीया बहिनी उकालो भागेर बाँचिन् । दाजुबहिनीलाई काकाले पालनपोषण गरे ।
अहिले २७ वर्ष पुगेका कुशल बेपत्ताको कागज बनाउन सीडीओ कार्यालय, वडा र रेडक्रस धाइरहे । १२ वर्षपछि कागज हात पर्दा पढ्ने, लेख्ने र जागिर खाने उनका सपना तुहिइसकेका थिए ।
‘आमाबुबा नहुँदाको पीर त छँदैछ, त्योभन्दा बढी पीडा राज्यको नियम कानूनले दियो,’ उनले भने ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा २०६९ जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सेती बाढीमा बेपत्ता भएकालाई पनि राहत दिने र मृतकसरह मान्यता दिने निर्णय गरेको थियो । तत्कालीन स्थानीय विकास अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्यसचिव गुरुप्रसाद सुवेदीका अनुसार उक्त निर्णयअनुसार माछापुच्छ्रे क्षेत्रका मृतक र बेपत्ता दुवैका गरी ६९ परिवारले २५ हजार रुपैयाँका दरले आधारभूत राहत पाए ।
तर क्षति सर्वेक्षण प्रतिवेदनका आधारमा एक वर्षपछि मृतकका २८ परिवारलाई थप एक लाख रुपैयाँ दिँदा बेपत्ता परिवार छुटे । तत्कालीन प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईका अनुसार मृत्युदर्ता प्रमाणपत्र नभएकाले उनीहरूलाई थप राहत दिन सकिएन ।
अहिले जिल्ला प्रशासन कार्यालयका पुराना अभिलेख आगलागीमा नष्ट भइसकेका छन् । यी विवरण स्थानीय सार्दीखोला सम्पर्क मञ्चले सुरक्षित राखेको प्रतिवेदन, तत्कालीन अधिकारीसँगको कुराकानी र उपलब्ध स्थानीय अभिलेखका आधारमा प्रस्तुत गरिएको हो ।
भरतले १२ वर्षपछि मात्रै बुबाको मृत्युदर्ता बनाउन सके । स्थानीय तह बनेपछि वडा कार्यालयबाट सहज सेवा पाइएला भन्ने उनलाई लागेको थियो । तर वडा प्रतिनिधिको सिफारिस, बैठकको निर्णय र प्रहरी मुचुल्का जुटाउन पटक–पटक धाउनुपर्यो ।
बेपत्ता व्यक्तिको कानूनी पहिचान नहुँदा राहत मात्रै रोकिएन, सम्पत्ति नामसारी, नागरिकता र पारिवारिक आर्थिक व्यवहारसमेत प्रभावित भए ।
सेती बाढी प्रभावित माछापुच्छ्रे र पोखरा क्षेत्रका बस्तीमा अहिले पनि पहिरोको जोखिम छ ।
माछापुच्छ्रे–१ छिवाङकी श्रीमाया तामाङलाई गएको साउन दोस्रो साताको रात सम्झँदा अझै डर लाग्छ । घरमाथिको मोटरबाटोबाट राति साढे १ बजे ढुंगामाटो खस्न थालेपछि उनी बालबच्चा च्यापेर उकालो लागिन् । त्यो रात निर्माणाधीन जलविद्युत् आयोजनाको पिँढीमा बिताउनुपर्यो ।
‘यो ठाउँ छोडेर कहाँ जाऊँ ? आफ्नो सम्पत्ति भनेको यही लालपुर्जा हो । बर्खामा बास दिने आफन्त पनि छैनन्,’ उनले भनिन् ।
छिवाङका करिब १३ परिवार पाँच महिना माछापुच्छ्रेकै चौरमा पाल टाँगेर बसेका थिए । अहिले गाउँ फर्किए पनि ठूलो पानी पर्दा जाग्राम बस्ने गरेको सानुमाया तामाङले बताइन् ।
भराभरीका हर्क गुरुङ माथिल्लो खोवाङमा चन्दादाताले बनाइदिएको आश्रयस्थलमा एक वर्ष बसेर फर्किए । त्यहाँ वस्तुभाउ चराउन र खेतीपाती गर्न कठिन भएपछि पुरानै गाउँ फर्किएका उनी अहिले पुरानो घरको भग्नावशेषमाथि टहरो बनाएर बसिरहेका छन् ।
‘अझै पनि पाखापखेरामा पहिरो गइरहन्छ । अपर्झट भाग्नका लागि त्रिपाल र कपडा तयार राख्छौं,’ उनले भने ।
गाउँपालिकाका प्रवक्ता गणेश आचार्यका अनुसार वर्षायाममा पालिकाभर पहिरोसम्बन्धी करिब २०/२२ घटना हुने गरेका छन् । गएको साउनमा सार्दीखोलास्थित लुम्बिनी भिजन जलविद्युत् आयोजनाका लागि बाटो ढलान गर्ने क्रममा माथिबाट आएको ढुंगामाटोसहितको पहिरोमा परी दुई मजदुरको मृत्यु भएको थियो ।
माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पहिरोसम्बन्धी करिब १४ घटनामा राहत दिने निर्णय गरेको थियो । असारमा भएका घटनाबारे गाउँ कार्यपालिकाले फागुनमा निर्णय गरेको थियो ।
क्षतिको प्रकृति अनुसार १० हजारदेखि बढीमा ३० हजार रुपैयाँसम्म राहत दिने निर्णय भएको वडा अध्यक्ष पौडेलले बताए । घर बस्नै नमिल्ने गरी भत्किएको वा मानवीय क्षति भएको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गर्नुपर्ने हुन्छ ।
गाउँपालिकामा विपद् व्यवस्थापनका लागि हरेक वर्ष बढीमा ३५ लाख रुपैयाँ विनियोजन हुने गरेको लेखा अधिकृत फणीन्द्र अधिकारीले बताए । त्यसमध्ये औसत ६० प्रतिशत खर्च हुने गरेको उनको भनाइ छ ।
राहतमा जाने रकम सानो छ । धेरै रकम पहिरो पन्छाउने, तारजाली तथा तटबन्ध सामग्री र स्वयंसेवक तालिममा खर्च हुने गरेको छ ।
नदीजन्य विपद्ले क्षति पुर्याएका संरचना पूर्ण रूपमा पुनर्निर्माण गर्ने आर्थिक क्षमता पालिकासँग नभएको गाउँपालिकाका इन्जिनियर चोलाकान्त रेग्मीले बताए ।
‘सानो क्षेत्रमा सामान्य तारजाली र ग्याभिन बाहेक अरू काम गर्न पालिकाको आर्थिक हैसियत पुग्दैन । प्रदेश र संघकै आयोजना आउनुपर्छ,’ उनले भने ।
बाढीले पुरेको सार्दीखोला–खारापानी क्षेत्रको तातोपानी कुण्ड पुनःस्थापना गर्ने स्थानीय प्रयास पनि सफल हुन सकेको छैन । प्राकृतिक रूपमा जमिनमुनिबाट निस्किएको तातोपानीको मुहानमा नुहाउन हिउँदमा टाढाटाढाबाट मानिस आउँथे । कुण्ड आसपासका चियापसल र व्यवसायबाट स्थानीयले आम्दानी गर्थे । बाढीले कुण्ड पुरेपछि पर्यटन गतिविधि ठप्प छ ।
सेती बाढीबाट प्रभावित बस्ती माछापुच्छ्रे गाउँपालिका र पोखरा उपत्यकाका विभिन्न ठाउँमा फैलिएका छन् । राहत, पुनःस्थापना, सडक निर्माण, पहिरो नियन्त्रण र नदी व्यवस्थापन एउटै स्थानीय तहको प्रयासले मात्रै सम्भव छैन ।
संविधानले विपद् व्यवस्थापनलाई तीनै तहका सरकारको साझा जिम्मेवारी मानेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले स्थानीय विपद् व्यवस्थापन समितिलाई प्रभावित परिवारको पहिचान र स्तर निर्धारण तथा जिल्ला समितिलाई मापदण्डअनुसार राहत वितरण र समन्वयको जिम्मेवारी दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विपद् व्यवस्थापन, उद्धार, राहत र पुनःस्थापनाको जिम्मेवारी दिएको छ । तर बहुवडा वा अन्तरपालिका क्षेत्रमा फैलिएको जोखिम, ठूलो पूर्वाधार पुनर्निर्माण र नदी व्यवस्थापनका लागि प्रदेश तथा संघको स्रोत र समन्वय पनि आवश्यक छ ।
उपलब्ध विवरणमा सेती प्रभावित क्षेत्रका लागि तीनै तहले बनाएको संयुक्त योजना, बैठक वा कार्यान्वयनको प्रमाण भेटिँदैन ।
गाउँपालिकाका प्रवक्ता आचार्यका अनुसार पालिकाले प्रदेश सरकारसमक्ष २२ करोड रुपैयाँको पुनःस्थापना प्रस्ताव पठाए पनि स्वीकृत भएन ।
वडा नागरिक मञ्चका अध्यक्ष देवबहादुर पुनको बुझाइमा संघीय संरचना आएपछि सेती बाढी प्रभावित क्षेत्रको मुद्दा झन् ओझेलमा परेको छ ।
‘नयाँ शासन व्यवस्थासँगै सेती बाढी सम्झना र बिर्सनामै सीमित रह्यो,’ उनले भने ।
गण्डकी प्रदेशको विपद् व्यवस्थापन शाखाका अधिकृत विनोद बडुवालका अनुसार अघिल्लो आर्थिक वर्ष बाढीपहिरो व्यवस्थापनमा प्रदेशबाट एक करोड ६ लाख रुपैयाँ खर्च भएको थियो । तर त्यसमा सेती नदी बाढीपीडितका लागि छुट्टै कार्यक्रम थिएन । पछिल्ला चार वर्षका प्रतिवेदनमा पनि सेती नदीका लागि कार्यक्रम नदेखिएको उनले बताए ।
प्रदेशको विपद् व्यवस्थापन कोषमा वार्षिक २२ करोड रुपैयाँ रहने र विभिन्न विपद्मा खर्च हुने विवरण शाखाले दिएको छ ।
कास्की जिल्ला प्रशासन कार्यालयको लेखा शाखाका अनुसार स्थानीय तहबाट सिफारिस भएका आवास अनुदानका निवेदनमा स्थलगत अनुगमनपछि मात्रै किस्ता भुक्तानी हुन्छ । क्षति मापदण्डअनुसार नभएको वा अनुदान लिएपछि निर्माण पूरा नगरेको अवस्थामा पछिल्ला किस्ता रोकिन्छन् ।
उपलब्ध विवरणअनुसार २०७९ देखि कास्कीका चार पालिकाबाट आवास पुनर्निर्माणका लागि १८८ जनाको अनुदान स्वीकृत भएकोमा ६४ जनाले मात्रै पूर्ण भुक्तानी पाएका छन् ।
सेती नदीको जोखिम व्यवस्थापन कसको जिम्मेवारी हो भन्ने प्रश्नमा सरकारी निकायबीच स्पष्टता देखिँदैन । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन महाशाखाले सेतीसम्बन्धी काम प्रदेश, संघ र सिंचाइ निकायको जिम्मेवारी भएको भन्दै महानगरको वार्षिक बजेटमा कार्यक्रम नराखिएको जनाएको छ ।
प्रदेशको भू तथा जलाधार प्रकोप नियन्त्रण कार्यालयको सेतीकेन्द्रित काम पनि न्यून देखिन्छ । कार्यालय प्रमुख प्रकाश गिरीका अनुसार कार्यालयले पठाएका वृक्षरोपण तथा जोखिम नियन्त्रणका योजना बजेटमा आउँदा परिवर्तन हुने गरेका छन् ।
सेती नदी हिमाली क्षेत्रबाट पोखरा उपत्यकातर्फ तीव्र ढलानमा बग्छ । भूगोलविद् खगेन्द्र पौडेलका अनुसार जलविद्युत् आयोजनाका लागि उपयुक्त मानिने यही नदीका कारण तटीय क्षेत्रमा अझ विनाशकारी घटना हुन सक्छ ।
‘जलवायु परिवर्तनको ट्रेन्ड हेर्दा यस्ता नदीहरू भविष्यमा अझ विनाशकारी हुने देखिन्छ,’ उनले भने ।
बाढी गएको १३ वर्षपछि पनि प्रभावित परिवारको माग उही छ— सुरक्षित बास, भरपर्दो बाटो र पुनःस्थापना ।
कानून फेरियो, सरकारका संरचना फेरिए, तर सेतीले विस्थापित गरेका परिवारलाई सुरक्षित ठाउँमा बसाल्ने र जोखिम घटाउने जिम्मेवारी कसले लिने भन्ने प्रश्नको जवाफ अझै आएको छैन ।