
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारत भ्रमणका क्रममा भएका समझदारी तथा उद्घाटन र शिलान्यास गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले समझदारी र परियोजनाहरूको उपलब्धि जनताको जीवनमा देखिनुपर्ने बताएका हुन् ।
नेपाली भाषामा सम्बोधन गर्दै शाहले समझदारी तथा परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर तथा विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा पुग्नुपर्ने बताए ।
‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ; र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने ।
पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने शाहले बताए । नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको उनको भनाइ थियो ।
प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा छलफल हुनुका साथै विभिन्न क्षेत्रमा समझदारी, पूर्वाधार उद्घाटन तथा शिलान्यासका काम भएको उनले जानकारी दिए ।
भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धको ऐतिहासिक आधारलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच गहन, सार्थक र दूरगामी छलफल भएको शाहले बताए ।
नेपाल–भारत सम्बन्ध भगवान् राम र माता जानकीको पावन युगदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै उनले सम्बन्धलाई थप जीवन्त बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको बताए ।
प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिका लागि नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने धारणा राखे । साथै, दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल–भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल बगिरहोस् भन्ने कामना गर्दै दुवै राष्ट्रको समृद्धिको कामना गरेका छन् ।