
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटमार्फत संयुक्त रूपमा उद्घाटन गरेपछि उक्त परियोजना नेपाललाई हस्तान्तरण गरिएको हो ।
यसै अवसरमा सिलिगुडी–झापा पेट्रोलियम भण्डारण (ग्रिनफिल्ड टर्मिनल) परियोजनाको पनि शिलान्यास गरिएको छ । उक्त परियोजनाको प्रारम्भिक लागत करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसमा पाइपलाइन निर्माणका लागि २ अर्ब ७८ करोड भारु र टर्मिनल निर्माणका लागि ५ अर्ब भारु खर्च हुने अनुमान छ ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घट्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनले देखाएको छ ।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी दुवै पूर्वाधार परियोजना सम्पन्न भएपछि नेपालको इन्धन ढुवानी लागत घट्ने अपेक्षा गरिएको छ ।
त्यससँगै पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली थप सहज र व्यवस्थित हुनुका साथै देशको ऊर्जा सुरक्षा मजबुत बनाउन तथा इन्धन भण्डारण क्षमता विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।