
७ मंसिर, काठमाडौं । नेपालले तेस्रो मुलुकसँग आयात–निर्यात व्यापारका लागि भारतका दुई थप बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न दिने सहमति भएको हो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप दुई बन्दरगाहको पहुँच दिने घोषणा गरेका हुन् ।
नेपालले यसअघि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न अनुमति मागेको थियो । यी दुई बन्दरगाह प्रयोगका विषयमा सन् २०१९ मै नेपाल र भारतबीच सहमति भएको थियो । यसपटक पनि धाम्रा र मुन्द्रा बन्दरगाहको अनुमति दिने विषयमा सहमति हुने चर्चा थियो । तर, भारतले सोही राज्यका फरक बन्दरगाह प्रयोग गर्न दिने निर्णय गरेको हो ।
धाम्रा र मुन्द्रा बन्दरगाह दुवै अडानी समूहले व्यवस्थापन गर्दै आएका छन् । तर, अहिले नेपालले प्रयोग गर्न पाउने सहमति भएका पारादीप र कान्डला बन्दरगाह भारत सरकारको सञ्चालन तथा व्यवस्थापनअन्तर्गत रहेका छन् ।
नेपालले हाल भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालस्थित कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाहका रूपमा लिने गरेको छ । एउटै रुटमा रहेका यी बन्दरगाहमध्ये कोलकातामा साना जहाज आउने गर्छन् भने हल्दियामा ठूला जहाज आउँछन् ।
त्यसबाहेक आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ ।
नेपालले आयात–निर्यात व्यापारलाई सहज बनाउन र बन्दरगाहको विकल्प विस्तार गर्न लामो समयदेखि भारतसँग थप बन्दरगाह प्रयोगको अनुमति माग्दै आएको थियो । पछिल्लो सहमतिसँगै नेपालले अब भारतका थप दुई बन्दरगाहमार्फत तेस्रो मुलुकसँग व्यापार गर्न पाउने भएको छ ।