
७ मंसिर, काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाले अयोध्या र मिथिलाको प्राचीन सांस्कृतिक सम्बन्ध पुनर्जीवित गरेको बताएका छन् ।
रेल सेवा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आदित्यनाथले दुई पवित्र तीर्थस्थललाई भारतीय रेल सेवामार्फत जोडेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे । साथै, समारोहमा उपस्थित नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई अयोध्यावासी र उत्तर प्रदेशवासीका तर्फबाट स्वागत गरे ।
‘भारतीय रेल्वेको यस सेवामार्फत यी दुई पवित्र तीर्थस्थललाई जोडेकामा म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । यो महत्त्वपूर्ण अवसरको साक्षी बन्न यहाँ उपस्थित नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई म अयोध्यावासी र सम्पूर्ण उत्तर प्रदेशवासीको तर्फबाट हार्दिक स्वागत गर्दछु,’ उनले भने ।
अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने रेल सेवाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।
‘अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमार्फत आज अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र एवं प्राचीन मिलन पुनर्जीवित भइरहेको छ,’ उनले भने ।
रेल सेवा सुरु भएपछि दुवै देशका श्रद्धालुलाई धार्मिक यात्रामा सहज हुने आदित्यनाथले बताए । नेपालका श्रद्धालु रामललाको दर्शनका लागि अयोध्या पुग्न सक्ने र भारतका श्रद्धालु माता जानकीको पूजाअर्चनाका लागि जनकपुरधाम आउन सक्ने उनले उल्लेख गरे ।
‘यस रेल सेवाको सुरुवातसँगै नेपालका श्रद्धालुहरू रामललाको आशीर्वाद लिन सिधै यात्रा गर्न सक्नेछन् भने भारतका श्रद्धालुहरू माता जानकीको पूजाअर्चनाका लागि जनकपुरधाम जान सक्नेछन्,’ उनले भने ।