२०८३ मंसिर ८, सोमबार

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

सहमति कार्यान्वयन गर्न डा. केसीको दबाब, नत्र फेरि सत्याग्रह

सरकारसँग भएको सहमति कार्यान्वयन नभए स्थगित सत्याग्रहसहित आन्दोलनमा उत्रने चेतावनी
सहमति कार्यान्वयन गर्न डा. केसीको दबाब, नत्र फेरि सत्याग्रह

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा समतामूलक पहुँचको माग राख्दै सुरु गरिएको उनको २४औँ सत्याग्रह २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो ।

तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनविपरीत निर्णय गरेको भन्दै डा. केसीले कात्तिक महिनामा नौ दिन लामो २५औँ सत्याग्रह गरेका थिए ।

सहमति भएलगत्तै तिहार र छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यान्वयनका लागि सरकारलाई केही दिन थप समय दिइएको विज्ञप्तिमा उल्लेख छ । जनताको स्वास्थ्य र शिक्षासँग जोडिएका संवेदनशील विषयमा सरकार प्रतिबद्धताबाट पछि हट्न नपाउने डा. केसीले बताएका छन् ।

उनले अब पनि सहमति कार्यान्वयन नभए वा सहमतिविपरीत गतिविधि भए पुनः आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस