
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन भएको पाइएको छ । प्रधानमन्त्रीलाई बिदाइ गर्न पुगेका सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता निषेधित क्षेत्रमा आवश्यक सुरक्षा पोसाकविना पुगेका हुन् ।
प्रधानमन्त्री शाहलाई बिदाइ गर्न विमानस्थल पुगेका गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री एवं कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ र रास्वपा प्रवक्ता जगदीश खरेल जहाज पार्किङ गरिएको एप्रोन क्षेत्रमा र्याम्प ज्याकेटविना पुगेको देखिएको छ ।
विमानस्थलको संवेदनशील क्षेत्र एप्रोनमा र्याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पासविना प्रवेश गर्न नपाइने प्रावधान रहेको नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अनुसूची १७ तथा नागरिक उड्डयनसम्बन्धी राष्ट्रिय प्रोटोकलले जहाज पार्किङ क्षेत्रमा यात्रु र चालक दलका सदस्यबाहेक अन्य व्यक्तिले र्याम्प ज्याकेट तथा विमानस्थलको प्रवेश पास अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरेको छ ।
‘चाहे भीआईपी होस् वा सामान्य, यो नियम सबैले पालना गर्नुपर्छ,’ प्राधिकरणका अधिकारीले भने ।
उनका अनुसार यसअघि नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारी र्याम्प ज्याकेटविना एप्रोन क्षेत्रमा पुगेपछि कारबाहीमा परेका थिए । प्राधिकरणले एक रुपैयाँ जरिबाना गरेपछि उनको ‘एकाउन्टेबल म्यानेजर’ पदसमेत गुमेको थियो ।
विमानस्थलको र्याम्प क्षेत्रमा जहाज आवागमन तथा सञ्चालन हुने भएकाले त्यहाँ उपस्थित व्यक्तिलाई टाढैबाट देख्न सकियोस् भन्ने उद्देश्यले हाई भिजिबिलिटी रिफ्लेक्टिभ सेफ्टी ज्याकेट अर्थात् र्याम्प ज्याकेट अनिवार्य गरिएको हो ।
विमानस्थलमा कार्यरत प्राधिकरण तथा एयरलाइन्सका कर्मचारीले समेत उक्त सुरक्षा ज्याकेट लगाएर काम गर्ने गर्छन् । यात्रुहरू भने सुरक्षा जाँच पार गरेर बोर्डिङ पाससहित उक्त क्षेत्रमा पुग्ने गर्छन् । चालक दलका सदस्यहरू आफ्नै पोसाकमा सुरक्षा प्रक्रिया पूरा गरेर प्रवेश गर्छन् ।
अन्य व्यक्तिका लागि भने विमानस्थलको प्रवेश पास र र्याम्प ज्याकेट अनिवार्य गरिएको छ ।
यसअघि २४ फागुन २०७९ मा र्याम्प ज्याकेटविना एप्रोन क्षेत्रमा पुगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक युवराज अधिकारीमाथि कारबाही गरेको थियो । उक्त घटनालाई हवाई सुरक्षा प्रोटोकल उल्लंघनका रूपमा लिइएको थियो ।
विमानस्थलको संवेदनशील क्षेत्रमा सुरक्षा नियम सबैका लागि समान रूपमा लागू हुने प्राधिकरणको प्रोटोकलले स्पष्ट पारेको छ ।