
६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले यसअघि पहिलो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको थियो । भारतविरुद्ध नेपाल २६ रनमै अलआउट भएको थियो । यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।
आजको खेल नेपाली क्रिकेटका लागि विशेष छ । यूएईविरुद्धको खेल नेपालले आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ ।
नेपालले यूएईविरुद्ध अहिलेसम्म सबैभन्दा धेरै ओडीआई खेलेको छ । दुई टोलीबीच भएका २० खेलमा नेपालले १२ जित निकालेको छ भने ८ खेलमा पराजित भएको छ । यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ ।
पछिल्लो पटक नेपालले यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो ।
नेपालले हालसम्म खेलेका ९९ ओडीआईमध्ये ४९ खेलमा जित, ४७ खेलमा हार, एक खेलमा बराबरी र दुई खेलमा नतिजाविहीन भएको छ ।
आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औं ओडीआई खेललाई ५०औं जितसँगै ऐतिहासिक बनाउन सक्नेछ । त्यसैले नेपाली टोलीका लागि आजको खेल जित र इतिहास दुवै दृष्टिले महत्वपूर्ण रहेको छ ।