
६ मंसिर, काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
वैदेशिक रोजगार विभागले पहिलो चरणमा १ हजारभन्दा बढी फरार आरोपितको सूची सार्वजनिक गरी उनीहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । विभागले यसअघि ९ कात्तिकमा सूचना जारी गर्दै पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो ।
तोकिएको समयभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमति सम्बन्धी प्रक्रिया रोक्का गर्नेलगायत कानुनी कारबाही अघि बढाइने विभागले जनाएको थियो ।
३५ दिने सूचना अवधि सकिएपछि सम्पर्कमा नआएका आरोपितको विवरण संकलन गरी बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन लागिएको विभागका अधिकारीले बताएका छन् । पहिलो चरणमा एक हजारभन्दा बढी फरार आरोपितको नाम सार्वजनिक हुन सक्ने विभागको अनुमान छ ।
विभागले पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिको यकिन संख्या भने अझै निकाल्न सकेको छैन । पुराना मुद्दाको व्यवस्थित अभिलेख नहुनु र गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभागको कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात नष्ट हुनुका कारण विवरण संकलनमा कठिनाइ भएको छ ।
वैदेशिक रोजगारसम्बन्धी कानुनले फरार आरोपितको बैंक खाता मात्रै नभई सम्पत्ति समेत रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । विभागले तयार पार्ने सूचीका आधारमा नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी सम्बन्धित व्यक्तिको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउनेछ ।
विभागका अधिकारीहरूका अनुसार आरोपितलाई पक्राउ गरेर थुन्नुभन्दा पीडितले छिटो न्याय पाउने र ठगीमा परेको रकम असुली हुने वातावरण बनाउनु प्राथमिकता हो ।
विभागले फरार आरोपितलाई कानुनी प्रक्रियामा सहभागी हुने अवसरसमेत दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्ति आफैं विभाग वा प्रहरीको सम्पर्कमा आएर बयानलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि तारेखमा छुट्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
स्वेच्छाले उपस्थित हुँदा लामो समयदेखि रोकिएका मुद्दाको प्रक्रिया अघि बढाउन र पीडितलाई न्याय दिलाउन सहज हुने विभागको अपेक्षा छ । सार्वजनिक सूचना जारी भएपछि केही आरोपित विभागको सम्पर्कमा आउन थालेका छन् ।
विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी ३० हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । लामो समयदेखि आरोपित फरार रहँदा अनुसन्धान तथा न्यायिक प्रक्रिया प्रभावित हुँदै आएको छ ।
बैंक खाता रोक्का गर्ने प्रक्रियामा खाताको दुरुपयोग भएको अवस्थालाई समेत ध्यान दिनुपर्ने देखिएको छ । ठगीमा संलग्न व्यक्तिले कतिपय अवस्थामा अरूको बैंक खाता प्रयोग गरेको हुन सक्छ ।
साथीभाइ वा चिनजानका व्यक्तिलाई सामान्य रकम आउने भन्दै खातामा पैसा जम्मा गराउने र पछि त्यही खाता वैदेशिक रोजगार ठगीको कारोबारमा प्रयोग गर्ने गरेको पाइएको छ । यस्तो अवस्थामा खातावालसमेत अनुसन्धानको दायरामा आउन सक्ने भएकाले खातामा भएको कारोबार र सम्बन्धित व्यक्तिको भूमिकाबारे अनुसन्धान आवश्यक हुने देखिन्छ ।
वैदेशिक रोजगार विभागले २०६४ सालदेखिका पुराना ठगीसम्बन्धी मुद्दालाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गर्ने काम गरिरहेको छ । वर्षौंसम्म कारबाही हुन नसकेका फाइल व्यवस्थित गर्ने, क्रमबद्ध गर्ने र डिजिटल अभिलेखमा राख्ने काम भइरहेको विभागले जनाएको छ ।
यसअघि स्क्यान गरेर डिजिटल रूपमा राखिएका पुराना मुद्दाका अभिलेखसमेत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा विभागमा भएको तोडफोड तथा आगजनीमा डिभाइस जलेर नष्ट भएका थिए । त्यसपछि विभागले पुनः पुराना मुद्दाका फाइल स्क्यान गरेर अभिलेखीकरण गर्न थालेको हो ।
विभागले चालु आर्थिक वर्षको ६ महिनाभित्र पुराना मुद्दाको अभिलेखीकरण र फर्छ्योटको काम सक्ने लक्ष्य राखेको थियो । सोहीअनुसार छुट्टै कर्मचारी खटाएर काम भइरहेको छ ।
हालसम्म ४–५ हजार मुद्दाको विवरण अद्यावधिक भइसकेको विभागले जनाएको छ । तर, प्रत्येक मुद्दाको सम्पूर्ण विवरण र प्रमाणसमेत स्क्यान गर्नुपर्ने भएकाले एउटा फाइल डिजिटल अभिलेखमा राख्न करिब एक घण्टासम्म लाग्ने गरेको छ ।
पुराना मुद्दाको अभिलेख व्यवस्थित नहुनु, पक्राउ पुर्जी जारी भएका व्यक्तिको यकिन विवरण नहुनु र आगलागीमा महत्वपूर्ण कागजात नष्ट हुनुले फरार आरोपितको पहिचान तथा बैंक खाता रोक्का गर्ने प्रक्रिया चुनौतीपूर्ण बनेको छ ।
विभागले अभिलेखीकरण पूरा भएपछि फरार आरोपितको संख्या यकिन हुने र उनीहरूमाथिको कानुनी प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरेको छ ।