
८ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनि छोइङ डोल्माको नियुक्ति विधि, प्रक्रिया र कानुनविपरीत भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले यसअघि पनि प्रश्न उठाउँदै आएको थियो । यस विषयमा अभियानले पटक–पटक खबरदारीसमेत गरेको थियो ।
तर, विवादका बीच आनि छोइङ डोल्मा लुम्बिनी विकास कोषमा उपस्थित भएर आफ्नो कार्यभार सम्हालिसकेकी छन् ।
यसै सन्दर्भमा नियुक्तिको कानुनी वैधता परीक्षण गर्न, विधिको शासन कायम राख्न तथा कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको अभियन्ताहरूले जनाएका छन् ।