
८ मंसिर, काठमाडौं । भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण देखावटी प्रस्तुति र प्रतिबद्धताका हिसाबले उत्कृष्ट भए पनि कुनै ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गर्दै मुनीले भ्रमणको बाहिरी प्रस्तुति राम्रो भए पनि सारमा अपेक्षित नतिजामै सीमित रहेको बताएका छन् । उनका अनुसार भ्रमणका ठोस उपलब्धि दुवै पक्षलाई स्वीकार्य हुने सामान्य समझदारीमा सीमित रहे ।
मुनीले भ्रमणका क्रममा जारी गरिएको संयुक्त भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारका रूपमा व्याख्या गरेका छन् । यसको कार्यान्वयन नेपाल र भारतबीचको आगामी राजनीतिक वातावरणमा निर्भर रहने उनको भनाइ छ ।
‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो,’ उनले लेखेका छन् ।
अर्को पोस्टमा मुनीले भारतको बागडोगरा विमानस्थलमा उडानका लागि नेपाली आकाश प्रयोग गर्न गरिएको मागलाई भारतको सुरक्षा संवेदनशीलतासँग जोडेर विश्लेषण गरेका छन् ।
उनका अनुसार भारतले चीनलाई ध्यानमा राख्दै आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको धारणा बुझ्न उक्त माग अघि सारेको हो ।
‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ मुनीले लेखेका छन्, ‘कम्तीमा अहिलेका लागि नेपाल त्यस सन्दर्भमा सहकार्य गर्न तयार देखिँदैन।’
प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा नेपाल र भारतबीच संयुक्त भिजन डकुमेन्ट जारी भएको थियो ।
भ्रमणअघि नेपालले भैरहवाका लागि थप हवाई प्रवेश बिन्दु माग गर्दै आएको थियो । त्यसैबीच भारतले बागडोगरा उडानका लागि पूर्वी नेपालको आकाश प्रयोग गर्न अनुमति मागेको विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो ।