
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् ।
मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशनसम्बन्धी दस्ताबेजमै यस विषयमा स्पष्ट उल्लेख गरिएको बताएका हुन् ।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौं, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गदैनौं, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौं,’ थापाले भने, ‘हामीले यो कुरा हाम्रो पार्टीको महाधिवेशनका दस्तावेजमा स्पष्ट भनेका छौं ।’
उनले व्यवस्था सञ्चालनका लागि सरकारको जिम्मेवारी भएजस्तै विपक्षी दलहरूको पनि निश्चित जिम्मेवारी हुने बताए । तर, अहिले प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउने पक्षमा कांग्रेस नरहेको उनले स्पष्ट पारे ।
‘हामी स्पष्ट छौं, हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौं, हामीलाई थाहा छ,’ उनले भने, ‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ, त्यहाँ हातेमालो गर्छौं, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गर्छौं, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो, त्यहाँ प्रश्न सोध्छौं ।’
सरकारलाई आवश्यक परेको ठाउँमा सहयोग गर्ने र गलत काममा खबरदारी तथा प्रतिरोध गर्ने कांग्रेसको नीति रहेको उनले बताए ।
त्यस्तै, प्रतिपक्षमा रहेका अन्य दलसँग संवाद र सहकार्य आवश्यक पर्ने विषयमा भने कांग्रेसले सहकार्य गर्ने थापाको भनाइ छ ।