
९ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ ।
आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि कार्कीले पुनः आईजीपीमा बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि पनि कार्कीको रिटमा दुई पटक पेसी तोकिएको थियो । गत ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी परेको थियो ।
तर, आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै उक्त दिन सुनुवाइ हुन सकेन । त्यसपछि ९ मंसिरका लागि पेसी तोकिएको थियो ।
गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
कार्कीको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।