
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको महाधिवेशनमा सक्रिय हुने जनप्रतिनिधिलाई कारबाही गरी पदमुक्त गर्नुपर्ने माग उठेको छ ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले पार्टीको वैधानिक महाधिवेशन र विधि प्रक्रियाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिमाथि अनुशासनको कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्,’ तिमिल्सिनाले बैठकमा भने, ‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोगमार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु ।’
देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई हटाउने संकेत सभापति गगन थापाले पनि सोमबारको बैठकमा गरेका थिए ।
पार्टी अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना र कार्यविभाजनसहित पार्टी पंक्तिलाई पूर्ण रूपमा परिचालन गर्नुपर्ने धारणा पनि तिमिल्सिनाले राखेका छन् ।
उनले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान महासंघ, ट्रेड युनियन, दलित संघ, लोकतान्त्रिक खेलकुद संघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको तीनदेखि छ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका बनाउनुपर्ने बताए ।
त्यस्तै, बाढी प्रभावित परिवारलाई तत्काल उचित राहत, सुरक्षित आवाससहित पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारमाथि पार्टीले ठोस दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
लोकतन्त्रका आधारभूत स्तम्भ, मूल्य र मान्यताको संरक्षण तथा सबलीकरणका लागि संसद् र सडकबाट सरकारलाई सशक्त खबरदारी गर्नुपर्ने उनले बताए ।
सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतका कमजोरीमाथि स्पष्ट दृष्टिकोण राखेर प्रतिरोध गर्न ढिला गर्न नहुने तिमिल्सिनाको धारणा छ ।
‘सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतका कमजोरीहरूमाथि स्पष्ट दृष्टिकोण राखेर प्रतिरोध गर्न ढिला गर्नु हुँदैन,’ उनले भने ।