४ साउन काठमाडौँ / बुद्धचित्तको दाना चोरी गर्ने समूहले ललितपुरमा एक जनामाथि खुकुरी प्रहार गरेका छन् । गए राति सवा २ बजेतिर गोदावरी नगरपालिका वडा नम्बर ७ गुरूङचुले गैरीडोली भन्ने ठाउँमा रहेको बुद्धचित्त टिप्न एउटा समूह पुगेको थियो ।
उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्न थालेका थिए । तर कुकुर भुकेपछि घरधनी कृष्णबहादुर मार्फाले घरबाहिर निस्किए । त्यसपछि उक्त समूहले घरधनी मार्फमाथि खुकुरी प्रहार गरेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार बुद्धचित्तको दाना चोरी गर्ने समूहले सिसिटिभीको तार काटेर घरधनीमाथि खुकुरी प्रहार गरेका थिए ।
‘त्यो समूहले बुद्धचित्त धनीको दायाँ हातमा खुकुरी प्रहार गरेका छन्, चोट लागेको छ । उहाँलाई अस्पताल लगिएको छ,’ उनले भने, ‘घरधनीलाई खुकुरी हानेपछि उनीहरू बुद्धचित्तको दाना लिएर भागेछन् ।’
घाइते मार्फाको उपचारको लागि आनन्दवन अस्पतालमा लगिएको थियो । उनको हातमा पाँच वटा टाँका लगाइएको छ । उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घटनापछि खोजी गर्नेक्रममा आइतबार बिहान ५ बजेतिर प्रहरी वृत्त चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ ।
सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् । उनीहरूबाट प्रहरीले ९९ वटा बुद्धचित्तको काँचो दाना बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि समेत देखिएको छ । यसअघि प्रतिमान गोले बाइक चोरीमा संलग्न रहेको देखिएको थियो । त्यस्तै बुद्ध सुनको चेन लुटपाटमा संलग्न रहेको देखिएको हो ।
प्रहरी वृत्त चापागाउँले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । गत असारमा काभ्रेको बनेपामा पनि बुद्धचित्त चोरी भएको थियो । बुद्धचित्त चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका थिए । तर चोरी भएका बुद्धचित्त फेला परेको थिएन । उक्त घरबाट ८ लाख बराबरको चोरी भएको दाबी गरिएको थियो ।