
फागुन ४, काठमाडौं/आजदेखि औपचारिक रुपमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार, आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले चुनाव प्रचार–प्रसार गर्न सक्ने र औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउने निर्वाचन आयोगले जनाएको छ ।