
२८ कार्तिक काठमाडौँ / नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको धोबीघाटमा आज (शुक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ । चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।
२८ असोजदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षमा रहेकाहरू आगामी पुसभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।