
१३ कात्तिक, काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।
कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।
नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।