४ असार काठमाडौँ / स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामाथि रड प्रहार गर्ने कांग्रेस निर्वाचित वडाध्यक्ष फरार भएका छन् ।
वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए ।
आले रास्वपाको केन्द्रीय सदस्य हुन् । नेपाल पनि स्थानीय चल्तापुर्जा नेता हुन् । उनीहरूले स्याङ्जाको आँधिखोलामा गैरकानुनी उत्खनन् गरेको भन्दै त्यसलाई रोक्नका लागि अभियान सञ्चालन गरेका थिए ।
समितिको कार्यक्रमबाट फर्किँदै गर्दा उनीहरूमाथि वालिङ–९ सुर्कौंदीमा वडाध्यक्ष खनालले रड प्रहार गरेका थिए । रास्वपा नेता नेपालले वडाध्यक्षले आफूहरूलाई यसअघि पनि धम्की दिँदै आएको र मंगलबार बाटो छेकेरै आक्रमण गरेको बताएका छन्।
पीडित पक्षले प्रहरीमा जाहेरी समेत दिइसकेका छन् । जाहेरी दर्ता भएको र वडाध्यक्ष खनालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।